ग्यास उद्योगीको लापर्वाहीले ज्यान जाँदै

Post Date : September 29, 2016 | 8:11 am

भक्तपुर, १३ असोज । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले उद्योगीको लापर्वाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण दुर्घटना बढेको बताउनुभयो । पुराना ग्यास सिलिन्डर बजारमा लैजाने, ग्यास चुहावट भएकै सिलिन्डर बजारमा पठाउने, उद्योगीले बेलाबेलामा सिलिन्डरको पुनः परीक्षण नगर्ने तथा सिलिन्डरको निर्माणमा लापर्वाही गर्ने गर्दा उपभोक्ताले दुर्घटना मोल्नु परेको उहाँले बताउनुभयो ।

उपभोक्तालाई ग्यासको प्रयोगमा सचेत गराउने र खराब उद्योगीलाई कारर्वाही गर्न सरकारले उदासीनता देखाउँदा उपभोक्ताले ज्यान गुमाउनु परिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले कच्चा ग्यास सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिनेभन्दा पनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको बताउनुभयो । उहाँले उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनु परेको र सरोकारवालाले नियमन गर्न नसक्दा ग्यास सिलिन्डरमा त्रुटि देखिएको बताउनुभयो ।

कार्यक्रममा एलपी ग्यास सिलिन्डर पड्कँदा ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भाइ सबिन महतले एलपी ग्यास सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाइले ज्यान गुमाउनु परेको बताउनुभयो । कम्पनीले सिकिस्त घाइते भएकी भाउजूको उपचार खर्चसमेत उपलब्ध नगराएको बताउँदै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेकाले उपभोक्ता मञ्चलाई पहल गरिदिन आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *