ग्रीक प्रधानमन्त्रीद्वारा अर्थतन्त्रमा सुधार आएको दाबी

Post Date : September 12, 2016 | 5:21 pm

एथेन्स (ग्रीस), २६ भदौ । ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले आइतबार आर्थिक सङ्कटपछि आगामी दिनका लागि सरकारको योजना प्रस्तुत गर्नुहुँदै ग्रीस आर्थिक सुधारतर्फ लागेको र यस अवस्थामा लगानी गर्न चाहने लगानीकर्तालाई विभिन्न क्षेत्रमा निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

एकासिऔँ थेसानेलोकी इन्टरनेसनल फियर (टीआईएफ) को उद्घाटन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री सिप्रासले ग्रीसको अर्थतन्त्र सात वर्ष लामो मन्दीपछि सकारात्मक विन्दुमा पुगेको बताउनुभयो ।

उत्तरी ग्रीसमा भएको राष्ट्रकै सबैभन्दा ठूलो वार्षिक प्रदर्शनीमा बोल्ने क्रममा उहाँले अधिकांश समय आफ्नो सरकारको एक वर्षयताको नीति तथा कार्यक्रमको वकालत गर्नुभएको थियो ।

उहाँले तेस्रो जमानत कार्यक्रमपछि अर्थतन्त्रका सबै सङ्केत सुधारोन्मुख देखिएको बताउँदै अब ग्रीसको आर्थिक तथा सामाजिक चक्र सकारात्मक मोडमा पुगेको दाबी गर्नुभयो ।

“म यस अवस्थामा सम्पूर्ण स्वदेशी तथा विदेशी लगानीकर्तालाई ग्रीसमा लगानी गरी व्यापारिक फाइदा लिन आग्रह गर्दछु” सिप्रासले बताउनुभयो ।

उहाँले अबका दिनमा ग्रीसमा स्वच्छ व्यापारिक वातावरण हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । अब सबै चुनौती सकिएका छन् । अबका दिनमा तपाईहरु (व्यापारी तथा उद्योगी) तथा ग्रीसको विकासका दिन हुनेछन् ।

ग्रीक प्रधानमन्त्री सिप्रासले ग्रीस आगामी दुई वर्षभित्र जमानत कार्यक्रमबाट बाहिरिने विश्वास व्यक्त गर्दै त्यसबेलासम्म सरकारले आवश्यक समूह र समुदायलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *