ग्लोबल आइएमई बैंक र प्यासिफिक डेभलपमेन्ट बैंकको एकीकृत कारोबार

Post Date : February 13, 2017 | 11:20 am

काठमाडौँ, २ फागुन । ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्ती गरी एकीकृत कारोबार शुरु गरेको छ । एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।

१३ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड (आ.व. २०७२।७३ को प्रस्तावित बोनस शेयरको ९४ करोड ६३ लाख रुपैयाँसहित) रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको निक्षेप ८५ अर्ब रुपैयाँ र कर्जा प्रवाह ७२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने शाखा संख्या ९४ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि कमर्ज एण्ड ट्रष्ट बैंक, आइएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्डबुद्ध फाइनान्सलाई मर्जर गरिसकेको छ । तीनवटा संस्था मिलेर बनेको रिलायबल डेभलपमेन्ट बैंकलाई गाभेपछि ग्लोबल आइएमई बैंक १० वटा संस्थाको एकीकृत रुप हुनेछ ।

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सन्दर्भमा आयोजित कार्यक्रममा गभर्नर नेपालले मुलुकलाई अप्ठ्यारो परेको बेलामा सबैको हैसियत देखिएकाले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्न आग्रह गर्दै उहाँले योजनाबद्ध तवरले लगानी नगर्ने हो भने राजनीतिक परिवर्तनसमेत दिगो हुन नसक्ने धारणा राख्नुभयो । उद्योग व्यवसायलाई अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले आज हामीले नगरे कसले गर्ने भन्ने मान्यताका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले लगानीमैत्री वातावरण निर्माण गरेर मुलुकको आर्थिक समृद्धिको योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । (तस्बिर: रोशन सापकोटा, रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *