ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकद्वारा अायोजित सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन

Post Date : March 7, 2017 | 1:34 pm

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै उहाँले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो । सरकारले केन्द्रीय बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रवर्द्धन गर्न पहल गरेको बताउँदै प्रधानमन्त्रीले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।

भर्खरै सम्पन्न पूर्वाधार सम्मेलन र नेपाल लगानी सम्मेलनमा सरकार तथा प्रमुख प्रतिपक्ष दलले लगानीका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा नेपालमा थप महत्वपूर्ण बैंक खुल्ने विश्वास दिलाउनुभयो ।

उदारीकरण अभियानअन्तर्गत दोस्रो चरणको वित्तीय सुधारलाई सरकारले अगाडि बढाएको जानकारी दिँदै उहाँले सो चरणको सुधारमा बैंक तथा वित्तीय संस्थाको प्रणालीलाई कानुनमार्फत थप समावेशी बनाइने बताउनुभयो ।

सन् २०२२ सम्ममा नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलकमा रुपान्तरण हुन र सन् २०३० सम्ममा मध्यम आय हुने मुलुकको स्तरमा पुग्न पूर्वाधारमा ठूलो लगानी आवश्यक भएको बताउँदै प्रधानमन्त्रीले नेपालले ऊर्जा, यातायात र पर्यटन क्षेत्रमा विशेष लगानीको अपेक्षा गरिएको धारणा राख्नुभयो । ‘भ्यालुबेस्ड बैंकिङ’मार्फत व्यापार, उद्योग तथा उद्यमशीलतालाई बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नाफाभन्दा जनता तथा समुदायको हित, असल शासन, जिम्मेवारी, पारदर्शिता, सामाजिक उत्तरदायित्व र बैंकिङ आचारमा प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनको विभिन्न मुलुकका ४० बढी बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृतको सहभागिता छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *