घरजग्गाको कारोबार बढ्यो

Post Date : July 19, 2016 | 5:29 pm

चितवन, ४ साउन । भूकम्प र नाकाबन्दीका कारण पहाड र तराई प्रभावित भएपछि सर्वसाधारणले बासस्थानको रोजाइँको रुपमा चितवनलाई लिएपछि यहाँको जग्गाको कारोबार बढेको छ ।

भूकम्पबाट जिल्ला न्यून मात्र प्रभावित रह्यो । तराई आन्दोलनको पनि यहाँ खासै प्रभाव परेन । स्वदेशको कमाई र विदेशबाट भित्रिएको विप्रेषण थन्क्याउनेस्थल चितवनको जग्गा हुन पुगेको छ । जिल्ला मालपोत कार्यालयका अनुसार आव २०७२/७३ मा ४२ हजार थान लिखित रजिस्ट्रेसन भएको छ । उक्त सङ्ख्या अघिल्लो आवमा २८ हजार थान मात्रै थियो ।

गत आवमा रजिस्ट्रेसन शुल्क, धितो बैंकिङ र पुँजीगत लाभकर गरी रु एकअर्ब १७ करोड ८ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवमा रु ५५ करोड ८४ लाख ६९ हजार मात्रै राजस्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी हरिकृष्ण सुवेदीका अनुसार गत आवमा रजिस्ट्रेसन शुल्कबापत रु ९६ करोड ५५ लाख ९४ हजार सङ्कलन भएको छ भने अघिल्लो आवमा सो शीर्षकमा रु ४४ करोड ८० लाख ९२ हजार सङ्कलन भएको थियो ।

धितो बैंकिङमा रु सात करोड १७ लाख १७ हजार राजस्व सङ्कलन भएको छ भने अघिल्लो आवमा रु पाँच करोड ४४ लाख ३३ हजार सङ्कलन भएको थियो । पुँजीगत लाभकरतर्फ रु १३ करोड ३५ लाख ७८ हजार तथा अघिल्लो आवमा रु पाँच करोड ५९ लाख ४२ हजार राजस्व सङ्कलन भएको थियो ।

सरकारी दररेटसँगै लिखत सङ्ख्या बढेककाले राजस्व बढेको कार्यालय प्रमुख टङ्कप्रसाद उपाध्यायले बताउनुभयो । “देशभरको सुरक्षित बासस्थानको रुपमा चितवनलाई लिएकै कारण घरजग्गा खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो,” उहाँले भन्नुभयो । घरजग्गाको मागसँगै मूल्यमा समेत दोब्बर वृद्धि भएको छ । अहिले सहरको महँगो जग्गा छोडेर ग्रामीण क्षेत्रमा सस्तो जग्गा किन्ने क्रम बढेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *