घोडेजात्राका अवसरमा अश्वकला

Post Date : March 27, 2017 | 8:53 pm

काठमाडौँ, १४ चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्राका अवसरमा नेपाली सेनाले घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गरेको छ ।

सेनाद्वारा टुँडिखेलमा आज आयोजित समारोहमा टाँगन घोडा दौड, चार्जर घोडा दौड, भल्टिङ एनड एक्रोब्याटिक्स, क्याभल्री राइड, क्रस टेन्ट पेगिङ, हर्स बल, म्युजिकल राइड, क्रस कन्ट्रीलगायत अश्वकला प्रदर्शन गरियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सेनाका वरिष्ठ अधिकृत, सरकारका उच्च पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधिलगायतले घोडेजात्रा अवलोकन गर्नुभएको थियो ।

घोडा दौडमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्नुभएको थियो । सिंहदरबारस्थित सेनाको ‘श्री नेपाल क्याभल्री’ युनिटले प्रत्येक वर्ष घोडेजात्राका अवसरमा घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गर्दै आएको छ ।

विसं १९०६ मङ्सिर ७ गते ‘रिसल्ला’ नामबाट स्थापित क्याभलरीले स्थापनाकालदेखि नै विभिन्न राजकीय तथा सैनिक समारोह र उत्सवमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । यस पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा एक दिन सार्वजनिक बिदासमेत दिने गरेको छ । रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले घोडेजात्राका अवसरमा सोमबार नेपाली सेनाले टुँडिखेलमा आयोजित समारोहमा घोडादौडमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीलाई पुरस्कृत गर्दै । तस्बिर: रोशन सापकोटा, रासस

घोडेजात्राका अवसरमा सोमबार नेपाली सेनाले टुँडिखेलमा आयोजित समारोहमा अश्वकला प्रदर्शन गर्दै नेपाली सेना । तस्बिर: रोशन सापकोटा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *