चट्याङ परेर ४० को मृत्यु, ३५ घाइते

Post Date : July 31, 2016 | 4:55 pm

नयाँदिल्ली, १६ साउन । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका कारण कम्तीमा ४० जनाको मृत्यु हुनाका साथै अन्य ३५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

चट्याङ परी एकै दिनमा उडिसा राज्यमा यति धेरै सङ्ख्यामा व्यक्तिहरुको मृत्यु भएको यो पहिलो पटक भएको सरकारी सञ्चार प्रशारण अल इन्डिया रेडियोले जनाएको छ ।

सम्बन्धित सरकारी पदाधिकारीका अनुसार खेतमा धान रोप्दा रोप्दै केही कृषकलाई एक्कासी परेको चट्याङले भेट्टाएको थियो ।

उडिसा राज्यमा अन्य दैवी प्रकोपका कारणभन्दा चट्याङले नै बढी धनजनको क्षति गराउने गरेको बताइन्छ । विगतका पाँच वर्षभित्र चट्याङ्कै कारण एक हजार पाँच सयभन्दा बढी नागरिकहरुको मृत्यु भएको पनि अल इन्डिया रेडियोले जानकारी दिएको छ ।

गत दुई महिनामा भारतभर विशेष गरी उत्तरी राज्यहरुमा चट्याङको प्रकोपका कारण मानिसहरुको मृत्यु भएको सङ्ख्यामा अस्वाभाविक रुपमा वृद्धि भएको छ ।

गत २२ जुनका दिन बिहार, झारखण्ड र उत्तरप्रदेशसमेत तीन राज्यमा रातभरी परेको चट्याङले कम्तीमा १०० जनाको ज्यान लिनुका साथै अन्य थुप्रै घाइते भएका थिए ।

भारतीय राष्ट्रिय अपराध अभिलेख केन्द्रका अनुसार सन् २००५ यता चट्याङका कारण प्रत्येक वर्ष कम्तीमा दुई हजार नागरिकको मृत्यु हुने गरेको छ । भारतमा जुनदेखि सेप्टेम्बर महिनासम्म मनसुन चल्नेगर्छ ।

यस अवधिमा पर्ने पानीले औसत वार्षिक वर्षाको ८० प्रतिशत अंश ओगट्ने गर्छ । यस मनसुनी वर्षाकालभरी कडा मेघ गर्जनु, भारी वर्षा हुनु र यसैबीचमा चट्याङ पर्नु सामान्य मानिन्छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *