चालिस लाख किलो जडीबुटी निकासी

Post Date : May 11, 2016 | 9:15 pm

बाँके (खजुरा), २९ वैशाख । नेपालगन्ज नाकाबाट जडीबुटीको निकासी गत वर्षको तुलनामा कम हुँदै गएको छ ।

भारतको उत्तर प्रदेश राज्य सरकारले लागु गरेको पारवहन शुल्क तथा स्थानीय प्रशासनले दिने अनावश्यक झन्झटका कारण जडीबुटीको निकासी घट्दै गएको नेपाल जडीबुटी व्यवसायी सङ्घका महासचिव टङ्कप्रसाद शर्मा बताउनुहुन्छ । यस वर्ष उक्त नाका भएर ४० लाख किलो जडीबुटी निकासी भएको छ । गत वर्ष ७० लाख किलो निकासी भएको थियो ।

आव २०७०÷७१ मा ४७ लाख ३५ हजार किलो जडीबुटी नेपालगन्जहुँदै भारत निकासी भएको सङ्घले जनाएको छ । बर्सेनि करिब रु एक अर्ब बराबरको जडीबुटी भारत निकासी हुने गरेको छ । व्यवसायीले भारत उत्तर प्रदेशको राजधानी लखनउ नजिकै पर्ने गोण्डा पुगेर अनुमती लिनुपर्छ ।

सङ्घका अनुसार मध्यपश्चिमाञ्चलका डोल्पा, जुम्ला, हुम्ला, सल्यान, रोल्पा, जाजरकोट, रुकुम, प्युठान, दाङ, सुर्खेतलगायतका जिल्लामा बर्सेनि ठूलो परिमाणमा जडीबुटी सङ्कलन हुने गरेको छ । ती जिल्लामा सङ्कलन गरिएको जडीबुटी नेपालगन्जसम्म ल्याएर भारत तथा अन्य मुलुकमा निकासी गर्ने गरिएको छ । सो नाका भएर टिमुर, सतावरी, रिठा, पाखनबेद, अमला, गुजरगानो, सिकाकाई, काउलो बोक्रा, तेजपात, हलहलेजरा, बिषजरा, दालचिनी, सालम दाना, जटामसीजस्ता जडीबुटी निकासी हुने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *