चिनियाँ लगानीकर्ता टोली दमकमा

Post Date : June 14, 2016 | 11:02 am

दमक, ३१ जेठ । चिनियाँ उद्योगी, व्यवसायीको एक टोलीले दमकमा बनिने दुईवटा योजनाको स्थलगत अवलोकन गरेको छ ।

आज साँझ चिनियाँ ग्लोबल एनजीओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा दमक आउनुभएका नौ सदस्यीय टोलीले यहाँका दुई योजनास्थलको अवलोकन भ्रमण गरेको हो । दमक आइपुगेको टोलीमा नेपाली उद्योगी भाष्करराज राजकर्णीकार र क्लिन पार्क औद्योगिक करिडोर दमकका अध्यक्ष गोविन्द थापासमेत सो टोलीमा सहभागी हुनुभएको थियो ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ती चिनियाँ टोलीले दमकमा बनिने दुई योजनाको स्थलगत अवलोकन गरेको वताउनुभयो । चिनियाँ लगानीकर्ताको टोलीले दमक–५ मा निर्माण हुने भनिएको ५४२ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने स्थानको स्थलगत अवलोकन गरेको थियो ।

त्यसलगत्तै उक्त टोलीले दमक–१९ मा निर्माण हुने (क्लिन इन्डस्ट्रियल पार्क) औद्योगिक कोरिडोर क्षेत्रको पनि स्थलगत अवलोकन गरेको थियो ।

राष्ट्रिय गौरवका योजनाका रुपमा हेरिएको उक्त कोरिडोरमा रु १० अर्ब भन्दा बढीका चिनियाँ, जापानी, फिलिपीन्स तथा कोरियाका लगानीकर्ताको लगानी रहने जनाइएको छ । सो क्रममा युनियनका उपाध्यक्ष चउ हुई जोनले शान्तिका दूत भगवान् गौतम बुद्धको देशमा लगानी गर्न पाउनु गौरवकोे विषय भएको बताउनुभयो ।

नगरपालिकाका कार्यकारी अधिकृत दाहालले बुद्धको मूर्तिसँगै निर्माण हुने अन्य चारवटा संरचनासहितको गुरुयोजना बनाउने काम अघि बढिसकेकाले छिट्टै नै संरचना निर्माणको काम अघि बढ्ने बताउनुभयो । उहाँले अहिले बुद्धको मूर्ति निर्माणका लागि सात विगाह जग्गा प्राप्त भइसकेकाले थप अन्य जग्गा खोज्ने काम पनि एक साथ अघि बढिरहेको बताउनुभयो ।

उक्त टोलीको संयोजन गर्नुभएका कोरिडोरका अध्यक्ष गोविन्द थापाले पछिल्लो समयमा दमकमा निर्माण हुन लागेका विभिन्न विकास निर्माणका काममा यहाँका स्थानीय, विभिन्न राजनीतिकदल निकै सकारात्मक देखिएकाले ती योजनाले समयमै पूर्णताः पाउनेमा आशावादी रहेको बताउनुभयो ।

उद्योगी राजकर्णीकारले पछिल्ला दिनमा नेपालमा लगानीको वातावरण प्रशस्त हँुदै गएकाले यसले आफूहरुलाई निकै उत्साही बनाएको बताउनुभयो । स्थलगत अवलोकनपछि टोलीले सो क्षेत्रमा निकट भविष्यमै निर्माणको काम थाल्ने आश्वासन दिएको थियो । यसअघि चिनियाँ उद्योगीको टोली यस क्षेत्रका योजनाको वस्तुस्थिति बुझ्न दमक आएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *