चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

Post Date : February 1, 2018 | 10:21 pm

बेइजिङ, चीन, १८ माघ । चीनको वाणिज्यमन्त्रालयले अमेरिकालाई व्यापारिक बिषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको पछिल्लो प्रतिक्रिया आएको हो ।

“व्यापार क्षेत्रमा हामीले संयुक्त राज्य अमेरिकालाई सहयोगीका रूपमा देख्ने गरेका छौँ,” मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा बताउनुभयो ।

अमेरिकाले शीतयुद्धकालीन मानसिकतालाई त्याग्नुपर्ने र दुई पक्षबीचको व्यापार सम्बन्धलाई प्रोत्साहित गर्दै सही दिशामा अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

ट्रम्पले न्यायपूर्ण तथा पारस्पारिक व्यापारसम्बन्धबारे गरेको सम्बोधनको प्रतिक्रियामा गाओले भन्नुभयो, “व्यापारिक सम्बन्ध एकतर्फी मापदण्डमा नभै अन्तर्राष्ट्रिय नियम कानूनको आधारमा हुनुपर्छ । ”

गाओले चीन र अमेरिका एक अर्काबीच महत्वपूर्ण व्यापारिक सहयोगी तथा लगानीकर्ता भएकोले दुबै मुलुकको हितमा हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सन् २०१७ मा चीन अमेरिका व्यापार कारोबार ५८० अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।(रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *