चीन–नेपाल–भारत सम्बन्धः अन्तर्राष्ट्रिय सम्मेलन

Post Date : May 19, 2016 | 3:04 pm

काठमाडौँ, ६ जेठ । चीन–नेपाल–भारत सम्बन्धका प्रमुख प्रवृत्ति र नेपालको नवीन विकासका रणनीति विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भयो ।

साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सियाम), इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले चीन र भारतले हासिल गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – “विगतको समीक्षा गर्दै वर्तमानलाई बुझेर मुलुकको विकासका लागि उपयुक्त रणनीतिक मार्ग निर्धारण गर्नुपर्छ ।”

विकासका रणनीति निर्धारण नगरी निष्क्रिय रहँदा कहीँ पनि नपुगिने यथार्थ औँल्याउँदै उपप्रधानमन्त्री गच्छदारले विगतका असफलता र त्रुटिबाट सिक्दै नयाँ उत्साहका साथ विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले एसियाली मुलुकलाई जल र स्थलमार्गबाट जोड्ने चीनको एक क्षेत्र एक सडक नीति नेपालका निम्ति लाभदायी हुने बताउनुभयो ।

उप प्रधानमन्त्री गच्छदारले गत वैशाखको भूकम्प र त्यसपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले नेपालीको जीवनलाई अति कष्टकर तुल्याएको भए पनि राष्ट्रले झेल्नु परेको त्यस्तो अति असहज परिस्थितिमा पनि नेपालीले धैर्य र एकता प्रस्तुत गरेका बताउनुभयो ।

आपसी समझदारी र सहयोगबाटै नेपाल–भारतबीचका समस्या समाधान हुनुपर्ने चाहना नेपाली जनताले व्यक्त गरेका पनि उपप्रधानमन्त्रीले स्मरण गराउनुभयो ।

साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले चीन र भारत नेपालका शुभेच्छुक हुन् भन्दै खुला सिमाना, सांस्कृतिक एवम् धार्मिक सम्बन्धका कारण भारतसँग नेपालको अधिक सम्पर्क एवम् अन्तक्र्रिया हुने गरेको बताउनुभयो ।

उहाँले नेपालको अपार जलस्रोतको उचित विकासका निम्ति चीन र भारतसँग सहकार्य गर्न उत्तिकै आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

सियामका डिन प्रा डा विजय केसी, इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज्का कार्यकारी निर्देशक डा विष्णुदत्त पन्त र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक मिङ जियाङले भारत र चीनबीचको रणनीतिक उपस्थिति तीनवटै मुलुकको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सम्मेलनमा नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुद, नेपाल विश्लेषक महेन्द्र पी लामा, प्राध्यापक मिङ जियाङ, पूर्व अर्थमन्त्री मधुकरशम्शेर जबरा, जलस्रोतविद् दीपक ज्ञवाली, एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दुनाथ लोहनी, पूर्व अर्थ सचिव रामेश्वर खनालसहितका सम्बन्धित विषयका जानकारले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *