च्याउ खेतीमा कृषकको आकर्षण बढ्यो

Post Date : March 3, 2017 | 1:57 pm

रामपुर (पाल्पा), २० फागुन । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा च्याउघर निर्माण सामग्री, प्यास्ट्रिक, पराल काट्ने चापकटर मेसिन कृषकलाई उपलब्ध गराएकाले अहिले च्याउ खेतीमा कृषकको आकर्षण बढ्न थालेको छ ।

विगत पाँच वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका हुन् । यहाँ अहिले कन्ये, गोब्रे र सिताके जातका च्याउ उत्पादन हुँदै आएको छ ।

जिल्लामा हाल झन्डै तीन सयभन्दा बढी कृषक च्याउ खेतीमा संलग्न भएकामा करिव ५० जनाले व्यावसायिक रुपमा च्याउ खेती गरेर मनग्य आम्दानी लिन सफल भएका हुन् ।

विसं २०७०/७१ मा १५ हजार ४०० प्याकेट च्याउबाट ६० मेट्रिक टन, २०७१/७२ मा २२ हजार प्याकेट च्याउबाट ८० मेट्रिक टन च्याउ उत्पादन भएको छ । विसं २०७२/७३ मा २६ हजार ५०० प्याकेट च्याउबाट ११२ मेट्रिक टन उत्पादन भई रु दुई करोड २४ लाख बराबरको आम्दानी जिल्लामा भित्रिएको छ ।

विसं २०७३/७४ को हालसम्मको अवधिमा १८ हजार प्याकेट च्याउबाट ८१ मेट्रिक टन च्याउ उत्पादन भइ रु एक करोड ६० लाख बराबरको आम्दानी भएको उक्त कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमले जानकारी दिनुभयो ।

यहाँका कृषकले च्याउ बिक्री गरेर एक वर्षमा न्यूनतम एक लाखदेखि रु १० लाखसम्म आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो । कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत च्याउ उपलब्ध गराएपछि कृषकलाई व्यवसाय गर्न सहज भएको रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर रानाको भनाइ छ ।

कार्यालयले जिल्लाका विभिन्न गाउँ गाउँमा पुगेर समय समयमा च्याउ खेतीसम्बन्धी तालिम, गोष्ठी, छलफल, घुम्ती शिविरसमेत गर्दै आइरहेको छ । अहिले यसको प्रभाव गाउँमा मात्र नभई सहरमा पनि पर्न थालेको छ । सहरमा बसोवास गर्दै आएका बासिन्दाले पनि पनि घरायसी प्रयोजनका लागि १० देखि १५ वटा बल्बमा च्याउ खेती गर्दै आइरहेका छन् ।

आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो छ । जिल्लाका सबैजसो स्थानका कृषक च्याउ खेतीमा आबद्ध छन् । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा कृषकको आकर्षण बढेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *