च्याउ बिक्रीबाट रु चार लाख बराबरको आम्दानी

Post Date : December 12, 2016 | 5:34 pm

रामपुर (पाल्पा), २७ मङ्सिर । रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो ।

सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गर्नुभएका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गर्नुभएको छ । च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उहाँले व्यवसाय पनि बढाउनुभएको हो ।
सुरुमा एउटा गोठमा परीक्षणका रुपमा च्याउ खेती गर्नुभएका रानाले उत्पादन बढ्दै गएपछि पछिल्लो समय विस्तार गर्दै लानुभएको हो । अहिले उहाँले छवटा गोठमा एक हजार बल्बमा च्याउ राखेर यसवर्ष झन्डै रु सात लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

“धन कमाउन विदेश गए, राम्रो कमाउन सकिनँ, घर फर्केर च्याउ खेती सुरु गरेँ”, “जसरी च्याउ उम्रिन्छ त्यसरी नै पैसा दिनहुँ हातमा परिरहेको छ” – रानाले भन्नुभयो ।

च्याउ खेतीबाटै नाम र प्रतिष्ठा कमाउनुभएका राना हिजोआज बलबहादुरको सट्टा च्याउवालाका नामले चिनिन थाल्नुभएको छ । अहिले प्रतिकिलो रु २००मा घरबाटै च्याउ बिक्री भइरहेको छ । अहिलेसम्म यस व्यवसायमा गोठ निर्माण र प्लास्टिक खरिदमा रु एक लाख बराबरको लगानी परेको उहाँको भनाइ छ ।

च्याउ उम्रन नपाउँदै धैरैले पहिलेदेखि नै बैना गर्ने गरेको रानाले बताउनुभयो । दिनमा उहाँले झन्डै २० देखि ३० किलोसम्म च्याउ बिक्री गर्नुहुन्छ । च्याउको माग बढ्दो रहेकाले अब सिताके च्याउ पनि सुरु गर्ने र यस व्यवसायलाई बढाउने सोचमा रहेको बताउनुभयो ।

थोरै लगानीमा कम मेहनतमा घरमै बसी बसी च्याउ बेचेर एक याममा लाखौँ आम्दानी लिन सकिन्छ । एक बल्बबाट तीन चारपटकसम्म च्याउ टिप्न सकिने भएपछि हिजोआज च्याउको उत्पादन जिल्लामा बढ्दै गएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *