‘छरितो सेवाका लागि कर्मचारीको तलब बढाउनैपर्छ’– अर्थविद्

Post Date : May 24, 2016 | 7:03 am

काठमाडौँ, १० जेठ । विभिन्न अर्थविज्ञले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भए मात्र जनतालाई दिने सेवा छिटोछरितो हुने भएकाले उनीहरुको तलब वृद्धिमा जोड दिनुभएको छ ।

रिपोर्टर्स क्लबले आज सरकारले ल्याउने बजेटका विषयमा गरेको अन्तक्र्रिया कार्यक्रमका अधिकांश वक्ताले कर्मचारी संयन्त्रलाई चुस्तदुरुस्त राख्न समेत तलब बढ्नु आवश्यक रहेको बताउँदै तलब वृद्धिसँगै वृत्तिविकास समेत गरिनुपर्नेमा जोड दिए । कतिपय वक्ताले कर्मचारीको तलब न्यूनतम रु २५ हजार हुनैपर्ने तर्क राखे भने केहीले अहिलेको तलबमा दोब्बर वृद्धि गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा अर्थ मन्त्रालयका सल्लाहकार प्रा डा गोविन्द नेपालले सरकारले ‘पपुलिस्ट’ नभई ‘पपुलर’ हुने बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले अहिले मुलुक र जनताको आवश्यकता र चाहना बढेकाले नेकपा (एमाले)को नौमहिने शासनकालमा ल्याएको जस्तो बजेटभन्दा ठूलो आकारको बजेट आउने स्पष्ट पार्नुभयो । प्रा डा नेपालले बजेटमा कृषि उत्पादन वृद्धिका लागि धेरै खाले योजना आउने जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोख्रेलले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा जोड दिँदै पुनःनिर्माण र पूर्वाधार निर्माणमा लगानी बढाउने गरी बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्वदेशमै मूल्यवान् वस्तु उत्पादन गरेर निर्यात गर्ने उद्योग स्थापनामा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले समाजवादउन्मुख अर्थतन्त्र भनिएकाले समाजवादका नाममा के हुन्छ भन्ने अन्योल रहिरहेकाले लगानी आकर्षित हुन नसकेको बताउँदै अर्थनीतिका विषयमा सबै दलले आआफ्नो धारणा स्पष्ट पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकाल, नेपाल निजामती कर्मचारी युनियन सङ्घका अध्यक्ष सुबोधकुमार देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष आमोददत्त भट्टलगायतले निजामती कर्मचारीलाई उत्प्रेरित नगरेसम्म पुँजीगत खर्च असम्भव रहेको बताउँदै त्यसका लागि तलब बढाउन आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *