छ गाविस जोड्ने गलेश्वर–राखु जिल्लाकै जीर्ण सडक !

Post Date : December 2, 2016 | 3:47 pm

म्याग्दी, १७ मङ्सिर । म्याग्दीको गलेश्वर–राखु सडकको ट्र्याक खोलेको झन्डै एक दशक बित्यो तर अझै पनि यस सडकखण्डमा सहजरुपमा यातायातका साधन गुड्न सक्दैनन् ।

मर्मतसम्भारको अभावमा यो सडक दिनप्रतिदिन जीर्ण र जोखिमपूर्ण बन्दै गएको छ । पिप्ले, भगवती हुँदै बेगखोलासम्म पुगेको सडकको ट्र्याकलाई विस्तार गरी चिमखोला र कुइने मङ्गलेसम्म सडकको ट्र्याक पु¥याएपछि यस सडकको महत्व झनै बढेको छ ।

आधादर्जन गाविसवासी प्रत्यक्ष लाभाविन्त हुने यो सडक पछिल्लो समय मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

सदरमुकामदेखि तीन किलोमिटर अगाडि गलेश्वरसम्म पुगेको सडकलाई विस २०६४ मा विस्तार गरी पिप्ले हुँदै भगवतीसम्म पु¥याइएको थियो । सडक सञ्जाल विस्तार भएपछि स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्न र दैनिक खाद्यान्न लगायतका सामग्री ढुवानीमा सहज पारिदिएको भए पनि सडकको स्तरोन्नति नहुँदा आकासिएको भाडादर र असुरक्षित यात्राले स्थानीयवासी हैरानीमा परेका छन् ।

हिउँदका महिनामा सामान्य जिप र ट्र्याक्टर सञ्चालन हुने भए पनि वर्षा याममा यो सडक नियमित रुपमा अवरुद्ध हुने गरेको भगवतीका अगुवा समाजसेवी देवेन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले सडक विस्तार गरेर मात्रै छाड्ने र मर्मतसम्भार नगर्ने प्रवृतिले सर्वसाधारणले सास्ती खेपेको बताउँदै स्थानीय सरकारवाला र सरकारी निकायले यसतर्फ ध्यान पु¥याउन आवश्यक रहेको सुझाउनुभयो ।

सडक विस्तार भएपछि गाउँमा यातायातका साधन पुग्ने गरे पनि त्यहाँको यात्रा निकै कष्टकर र जोखिमपूर्ण हुने गरेको छ । अर्कोतर्फ सडककै अवस्थालाई देखाएर यातायात व्यवसायीले चर्को भाडा असुल्ने प्रवृत्तिले समेत सर्वसाधारण थप मारमा पर्दै आएका छन् ।

सडकको अधिकांश भागमा खाल्डाखुल्टी हुने, भेलबाढी सडकमै बग्ने जस्ता समस्याले सवारी साधन समेत जोखिमपूर्ण तवरले चलाउनुपरेको सवारी चालक बताउँछन् ।

“हिउँद होस् या वर्षात् गाडी सडकमै फस्ने गरेका छन्, खाल्टाखुल्टीको समस्याले गाडीका महत्वपूर्ण पाटपुर्जामा समेत नियमितजसो क्षति पुग्ने गरेको छ”– बेनीदेखि राखुसम्म निजी बोलेरो चलाउँदै आएका उमेश आचार्यले भन्नुभयोे । यस सडकखण्ड अन्तर्गत बेनीदेखि भगवती हुँदै बेगखोलासम्म माइक्रो बस र जिपले यात्रु बोक्दै आएका छन् भने बेनीदेखि पिप्ले हुँदै मौवाफाँट र दग्नामको दवाङभिरसम्म जिप सञ्चालनमा रहेका छन् ।

यस सडकमा यातायात व्यवसायीले जिल्लामा निर्धारण गरेको भन्दा अत्यधिक बढी भाडा असुली गर्दै आएका छन् । यद्यपि, उनीहरुले सडक अप्ठ्यारो भएकै कारण जिल्लामा निर्धारण गरे भन्दा बढी भाडा लिने गरेको दाबी गर्छन् । अहिले यस सडकखण्डमा जिप, माइक्रो, ट्याक्टर, बोलेरो, लगायतका सवारी साधन सञ्चालन हुँदै आएका छन् ।

सडक विस्तार भएको लामो समय भइसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतिमा सरकार र जिल्लास्थित राजनीतिक नेतृत्वको ध्यान नपुगेको पिप्ले गाविसका पूर्व अध्यक्ष समेत रहनुभएका गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर शाहीले बताउनुभयो ।

“राखु भेगसँगै रघुगङ्गा क्षेत्रकै प्रमुख सडक हो यो, यो सडकबाट झन्डै आधा दर्जन भन्दा बढी गाविसवासी लाभान्वित छन्, तर ट्र्याक खोलेपछि सडकको स्तरोन्नतिका लागि जिल्लास्तरबाट न्यून मात्रै बजेट आउने गर्दा सडकको स्तर झन् झन् खस्किँदै गएको छ” – अध्यक्ष शाहीले भन्नुभयो । उहाँका अनुसार, यो वर्ष गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडकको मर्मतका लागि जिल्ला विकास समिति मार्फत रु १५ लाख बजेट विनियोजन भएको छ ।

उक्त बजेटबाट छिट्टै्र सडक मर्मतको काम सुरु गर्ने तयारी गरिरहेको भए पनि पूरै सडकको स्तरोन्नतिको लागि भने बजेट अपुग रहेको शाहीको भनाइ छ । बेगखोलादेखि चिमखोला हुँदै कुइने मङ्गलेसम्मको सडक मर्मतका लागि भने जिविस अन्तर्गतको ड्रिलिप आयोजनामार्फत बजेट उपलब्ध गराइने बुझिएको छ ।

सडकखण्ड अन्तर्गत बेगखोलासम्म जोखिमपूर्ण भए पनि सवारी साधन सञ्चालनमा आएको छ । तर बेगखोलादेखि चिमखोला हुँदै कुइने मङ्गलेसम्मको सडकमा भने ट्र्याक पुगेपनि नियमित रुपमा सवारी साधन अझै सञ्चालनमा आउन सकेको छैन् । समुदायकै लाखौँ रुपैयाँ लगानीमा बेगखोलादेखि माथिको उक्त सडक निर्माण भएको भए पनि मर्मत नहुँदा अहिलेसम्म हिउँदमा ट्र्याक्टरबाहेक अन्य सवारी साधन चल्नसक्ने अवस्था छैन ।

यस सडकखण्डको मर्मतका लागि चालु आर्थिक वर्षमै सांसद विकास कोष मार्फत रु ७० लाख बजेट माग गर्दै जिल्लास्थित राजनीतिक दल र जिल्ला विकास समितिमा ज्ञापनपत्र समेत बुझाइसकेको सडक मर्मत उपभोक्ता समितिले जनाएको छ ।

विशेष गरी राहुघाट जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र राखुको सडकमा आयोजनाले नै स्तरोन्नति गर्ने आशा गरिएपनि आयोजनाको अन्यौलताले गर्दा यस सडकखण्डको स्तरोन्नतिमा जिल्लास्थित सरोकारवालाको ध्यान नपुगेको देखिन्छ ।

यो सडकले जिल्लाका ग्रामीण सडकको अवस्थाको चित्रण गर्छ । भिरालो भू–बनोटमा उचित मापदण्ड पूरा नगरिकन विस्तार गरिएका जिल्लाका अधिकांश ग्रामीण सडक सञ्जाल अहिले स्तरोन्नतिको पर्खाइमा रहेका छन् ।

गुरुयोजना कार्यान्वयन नहुँदा सडक लथालिङ्ग

अव्यवस्थित तवरले जिल्लामा विस्तार भएका ग्रामीण सडककै कारण वर्षात्मा बाढीपहिरोको जोखिम बढेको छ भने तिनै सडकमा मनपरी बजेट विनियोजन गर्ने प्रचलनले अन्य विकास निर्माण योजना ओझेलमा परेका छन् ।

जिल्लामा सडक निर्माण र विस्तारलाई व्यवस्थित गर्न जिल्ला सडक गुरुयोजना निर्माण पनि भएको छ तर गुरुयोजनामा टेकेर सडकको विस्तार र स्तरोन्नति नहुँदा जिल्लाका सडक आयोजना लथालिङ्ग र भद्रगोल बनिरहेका हुन् ।

जिविसद्वारा गुरुयोजना निर्माण गरेपनि त्यसको कार्यान्वयन पक्ष प्रभावकारी देखिँदैन । यो तथ्यलाई जिल्ला विकास समितिले हरेक वर्ष सडकको ट्र्याक विस्तार र स्तरोन्नतिमा पहुँचका आधारमा बजेट बाँड्ने प्रचलनले पनि प्रभावित बनाएको देखिन्छ ।

हरेक गाविस जोड्ने जिल्ला सडकलाई प्राथमिकता दिनुपर्ने भए पनि कतिपय अवस्थामा त्यसो हुन नसकेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् । जिल्लामा कतिपय ठाउँमा एउटै स्थानका लागि पनि विभिन्न ठाउँबाट ट्र्याक खोल्ने प्रवृत्तिले गर्दा धेरै सडक आयोजना अस्तित्वमा आएको देखिएका छन् ।

न्यून बजेट सबै सडकको स्तरोन्नतिको लागि प्रर्याप्त नहुनुले पनि समस्या सिर्जना गरेको हो । थोरै बजेट धेरै सडकका लागि विभाजन गर्दा उपलब्धि न्यून हुने गरेको छ । एक नगरपालिका र ३५ गाविस रहेको म्याग्दीमा गतवर्षसम्म ५१० किलोमिटर सडक विस्तार भएको जिविसले जनाएको छ ।

पाँच गाविसबाहेक अन्य सबै गाविस सडक सञ्जालमा जोडिए पनि सडकको अवस्था जीर्ण भएकाले नियमित रुपमा सवारीसाधन सञ्चालनमा आउन सक्दैनन् । हाल सदरमुकाम बेनी र गलेश्वर बजार क्षेत्रभित्र मात्रै सडक कालोपत्र गरिएको छ भने अरु बाँकी सबै सडक कच्ची रहेका छन् । (कमल खत्री) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *