छ महिनामा १५ हजार पर्यटक मुस्ताङ पुगे

Post Date : June 20, 2016 | 1:44 pm

मुस्ताङ, ६ असार । पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो छ महिनामा १५ हजार पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।

राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा पदयात्रासँगै लोमान्थाङ, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी र प्राकृतिक सुन्दरतामा रमाउन बर्सेनि बाह्य पर्यटक आउने गरेका छन् ।

सन् २०१६ को जनवरीदेखि मे महिनासम्म १५ हजार ३३८ जना पर्यटकले जिल्ला भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमकी प्रमुख निरु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सोमध्ये एक हजार १४ जना उपल्लो मुस्ताङको भ्रमणमा गएका छन् ।

यस वर्ष कोरला नाकासम्म सहज यातायात व्यवस्था, तिजी पर्वका कारण उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्या पनि बढी रहेको बताइएको छ । अमेरिका, दक्षिण कोरिया, चीन, जापान, फ्रान्स, जर्मनी, क्यानडालगायत देशबाट बढी पर्यटक मुस्ताङ भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ ।

सन् २०१५ मा २३ हजार २७२ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए । देशको राजनीतिक अवस्थामा सुधार आएको र भ्रमणका लागि मुस्ताङ सुरक्षित रहेको सन्देश प्रवाह भइरहेकाले यस वर्ष पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव परेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *