जापानीले भक्तपुरमा खोलिदिए सीप विकास केन्द्र

Post Date : January 26, 2017 | 5:52 pm

महिलाहरु सेनिटरी प्याड उत्पादन गर्दै

काठमाडौँ, १३ माघ । इन्स्टिच्युट अफ कल्चरल अफेयर्स (आइसिए) नेपालले भक्तपुरको चाँगुनारायणमा १ करोड ३५ लाख रुपैया लगानी गरेर बालबालिका तथा महिला सिकाइ केन्द्रको स्थापना गरेको छ । चार रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा सहकारीलगायत सीप विकास तालिम दिने भवन, बालकालिका र बृद्धहरुका लागि मनोरंजन उपलब्ध गराउने स्थलसमेत छन् ।

आइसिए जापानको सहयोगमा निर्मित उक्त केन्द्रको मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । भूकम्पपश्चात जोखिममा परेका चाङ्गुनारयाणका बासिन्दालाई सीममूलक तालिम संचालन गरेर आत्मनिर्भर बनाउन सिकाइ केन्द्र स्थापना गर्न सहयोग गरेको आइसिए जापानकी निर्देशक सिजिओ सातोले बताइन् ।

सिकाइ केन्द्रले महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास गर्दै आएको छ । केन्द्रका महिलाले सस्तो मूल्यमा महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड उत्पादन गर्न थालेका छन् । ती महिलालाई बजार ब्यवस्थापन गर्ने तालिमसमेत केन्द्रले दिएको आइसिएका नेपाल निर्देशक आत्माराम तिम्सिनाले बताए । सिकाइ केन्द्रबाट तालिम लिएका महिलाहरुले स्थानीय स्तरमा लप्सीको क्यान्डीलगायतका खाद्य सामग्री मसेत उत्पादन गर्दै आएका छन् ।

सिकाइ केन्द्रमा भूकम्पबाट पीडित स्थानीय बासिन्दाका लागि मनोसामाजिक परामर्श समेत उपलब्ध गराउँदै आएको छ । पीडित बालबालिका र बृद्धहरुलाई सकारात्मक क्रियाकलाप संचालन गर्न क्लब गठन गरिएको छ ।

सिकाइ केन्द्रको उद्घाटनपछि बोल्दै पूर्वप्रधानमन्त्री नेपालले जापानीहरुको सहयोगमा निर्माण भएको सिकाइ केन्द्रको भरपूर लाभ उठाउन स्थानीय बासिन्दालाई आग्रह गरे । उनले सिकाइ केन्द्रले दिने सीपको प्रयोग गरेर आयआर्जन गर्न सकिने बताए ।

कार्यक्रममा जापानी दूतावासका द्वितीय सचिव इजोइ योकोइ, आइसिए जापानकी निर्देशक सिजिओ सातो, समाज कल्याण परिषदका सचिव डिल्लीप्रसाद भट्टलगायतले आफ्नो सीप विकास गर्न सिकाइ केन्द्रको भरपुर उपयोग गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *