जुट उद्योग बन्द

Post Date : June 23, 2016 | 3:27 pm

पथरी (मोरङ), ९ असार । मोरङ–सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सातवटा जुट उद्योग बन्द भएका छन् ।

सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन् । नेपाल जुट उद्योग सङ्घका अनुसार अहिले यस करिडोरमा चारवटा मात्र उद्योग जेनतेन चलिरहेका छन् । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण धेरै उद्योग बन्द हुन पुगेका हुन् । अहिले नेपाल जुट इन्डस्ट्रिज, अरिहन्त मल्टिफाइबर्स, बाबा जुट र स्वस्तिक जुट सञ्चालनमा छन् ।

जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छा भारतीय उत्पादनसित नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द हुन पुगेका बताउनुहुन्छ । यस्तै बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा उद्योग बन्द गर्नुपरेको बाबा जुट उद्योगका सञ्चालक प्रकाश मुन्दडाको भनाइ छ ।

जिल्लाका नरेश राठीको गुह्ेश्वरी जुट मिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग, विराटनगर जुट मिललगायत उद्योग बन्द छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवाल डेढ मेगावाट बिजुली दिन सरकारले नसकेपछि ती उद्योग बन्द भएका बताउनुहुन्छ ।

“सरकार गम्भीर नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आइपरेको हो,” उहाँले भन्नुभयो । चारवटा उद्योग बन्द हुँदा करिब रु एक सय करोड नोक्सानी भएको उद्योग सञ्चालकहरुको भनाइ छ । उद्योग बन्द हुँदा करिब पाँच हजार मजदुर र कर्मचारी बेरोजगार बनेका बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *