झपट पुरस्कार दीक्षितलाई

Post Date : April 4, 2016 | 12:36 pm

काठमाडौँ, २२ चैत । यस वर्षको झपट साहित्यिक पुरस्कार वैदिक साहित्यका प्रखर विद्वान् साहित्यकार मदनमणि दीक्षितलाई प्रदान गरिएको छ ।

साहित्यकार झपटबहादुर राणाको १२०औँ जन्मजयन्तीका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त पुरस्कार प्रदान गर्दै दीक्षितको विद्वता अन्तर्राष्ट्रियस्तरको भएकाले सरकारले उहाँलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

पुरस्कृत व्यक्तित्व दीक्षितले स्वास्थ्यले साथ नदिए पनि झपट पुरस्कारको प्रतिष्ठाका कारण आफू पुरस्कार ग्रहण गर्न उपस्थित भएको बताउनुभयो ।

कार्यक्रममा ‘कविशिरोमणि लेखनाथ पौड्यालका रचनामा नैतिक पक्ष’ विषयमा विद्यावारिधि गर्नुभएका साहित्यकार डा बमबहादुर जितालीलाई सैनध्वज नन्दकुमारी पुरस्कार र नृत्याङ्गना नारायणदेवी प्रधानलाई तोरणकुमारी कला संस्कृति पुरस्कार प्रदान गरियो । यस्तै झपट पुरस्कार गुठीमा लामो समयदेखि योगदान पुरयाउनुभएका प्रा ठाकुर पराजुलीलाई अभिनन्दन गरियो । गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा भएको कार्यक्रममा बानेश्वरस्थित रत्नराज्य उमाविबाट प्रवेशिका र उमाविस्तरमा सर्वाधिक अङ्क ल्याउने छात्रछात्रालाई पनि पुरस्कृत गरियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *