टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

Post Date : February 19, 2017 | 4:52 pm

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरुः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने गरी गत २७ जनवरीका दिन जारी गर्नुभएको कार्यकारी आदेशको विरोधमा फेरि एकपटक जुलुस प्रदर्शन भएको जनाइएको छ ।

जुलुसका सहभागीहरुले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको चर्को विरोध गर्दै आप्रवासी तथा शरणार्थीहरुको समर्थनमा नाराबाजीसमेत गरे । जुलुसले डाल्लासको मुख्य केन्द्र र बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

यसपटकको जुलुस र भीड उग्र र हिंसात्मक नदेखिई शान्त रहेको डाल्लास प्रहरीले जनाएको छ ।

जुलुसका कतिपय सहभागीहरुले अमेरिकी झन्डा बोकी ‘से इट लाउड, से इट क्लियर, रेफ्युजिज आर वेलकम हियर’ भनी उच्च स्वरमा नारा लगाएका थिए ।

जुलुसमा सामेल भएका केही धर्मगुरुहरु तथा नागरिक अगुवाहरुले आप्रवासी तथा शरणार्थीसम्बन्धी राष्ट्रपति ट्रम्पको उक्त नीतिको विरोध जनाए ।

यसैबीच, दक्षिणी टेक्सासको सान एन्टोनियो नगरमा पनि यस्तै प्रकारको विरोध प्रदर्शन भएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको आप्रवासी तथा शरणार्थी र मुस्लिम बहुल राष्ट्रका नागरिकलाई प्रवेश निषेधसम्बन्धी उक्त कार्यकारी आदेशविरुद्ध स्थानीय अदालतमा मुद्दा पर्दा सो कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउने फैसला भएको थियो ।

स्थानीय अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन गरेकोमा उच्च अदालतले पनि स्थानीय अदालतकै फैसला सदर गरेको थियो ।

त्यसैगरी, अदालतका फैसलालाई सम्मान गर्दै, आगामी हप्ता अर्को नयाँ परिमार्जित कार्यकारी आदेश जारी गरी सो विवादास्पद पुरानो आदेशलाई प्रतिस्थापन गराउने भनी ट्रम्प प्रशासनले गत बिहीबार घोषणा गरेकोमा यस परिमार्जित नयाँ कार्यकारी आदेश भने आइनसकेको जनाइएको छ । रासस/सिन्ह्वा (Photo: Nathan Hunsinger/The Dallas Morning News via AP)

Leave a Reply

Your email address will not be published. Required fields are marked *