ट्रम्प रिपब्लिकनका आधिकारिक उम्मेदवार

Post Date : July 21, 2016 | 12:28 pm

वासिङटन डिसी (संयुक्त राज्य अमेरिका), ५ साउन । रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो आधिकारिक उम्मेदवार डोनाल्ड ट्रम्प भएको घोषणा गरेको छ ।

सोमबारदेखि जारी उक्त पार्टीको राष्ट्रिय सम्मेलनको दोस्रो दिन ट्रम्पले कुल दुई हजार ४७२ प्रतिनिधि (डेलिगेट) मतमध्ये एक हजार ७२५ मत ल्याउनुभएको हो । उक्त सम्मेलनको अध्यक्षता गरिरहनुभएका संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाका सभामुख पाउल रायनले ट्रम्पलाई पार्टीको आधिकारिक उम्मेदवारका रुपमा घोषणा गर्नुभएको थियो ।

पार्टीले मनोनयन गरेलगत्तै ट्रम्पले पार्टीबाट आफूलाई ठूलो सम्मान मिलेको उल्लेख गर्र्दै यस्तो ट्वीट गर्नुभएको छ – “म कडा मेहनत गर्नेछु र कहिल्यै तल झर्न दिने छैन ।”

कतिपय विवादास्पद अभिव्यक्तिका कारण पार्टीको सम्मेलनबाट उहाँ मनोनयनमा नपर्ने अड्कल काटिएको थियो तर धनाढ्य ट्रम्प आफ्नो उमेदवारीलाई निरन्तरता दिन सफल हुनुभएको छ ।

अमेरिकाको राजनीतिमा अनुदारवादी धारको नेतृत्व गर्नुहुने रिपब्लिकन पार्टी प्रतिनिधि ट्रम्पको एजेन्डालाई अनुमोदन गरेर पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनाइएसँगै चुनावमा रौनकता थपिने अपेक्षा गरिएको छ । (अग्नि चौलागाईं) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *