ट्राइफोलिएट फलेपछि जुनार किसान खुसी

Post Date : July 18, 2016 | 9:05 am

सिन्धुली, २ साउन । सिन्धुलीका जुनार किसानले जिल्लामै पहिलो पटक ट्राइफोलिएट फलाएका छन् । विगत केही वर्षदेखि जुनार किसानले ट्राइफोलिएट लगाए पनि यस वर्ष मात्रै फलाउन सकेका हुन् ।

ट्राइफोलिएट एक जङ्गली वनस्पति हो । सिन्धुलीमा ट्राइफोलिएट नपाएपछि किसानले केही वर्षअघि रु ६०० तिरेर एक किलो दाना ल्याई ट्राइफोलिएट रोपेको जुनार किसान दीपक थापाले बताउनुभयो । उहाँले खुसी हुँदै भन्नुभयो – “अब पहिलो पटक ट्राइफोलिएट फलेको छ । यसले हामीलाई जुनार बेर्ना उत्पादन गर्न ठूलो सहयोग पु¥याउने छ । जुनारका बेर्ना गुणस्तरीय र स्वस्थ बनाउन ट्राइफोलिएटले सहयोग पु¥याउँछ । अब हामी मागअनुसार जुनारका बेर्ना तयार गर्छौैं ।”

केही वर्षअघि हामी नौ जना किसानले कीर्तिपुरबाट प्रतिकेजी रु ६०० का दरले ट्राइफोलिएट किनेर ल्याएका थिए । यस वर्ष ट्राइफोलिएट फल्दा आफूहरुलाई निकै खुसी लागेको अर्का जुनार किसान राजकुमार थापाले बताउनुभयो । अब बेर्ना तयार पार्दा दुःख गर्नुपर्ने दिन गएको थापाको भनाइ छ ।

जुनारका बेर्ना तयार गर्दा बेर्नाको जरा मजबुत नभएर बिरुवा नफस्टाउने, मर्ने, रोग लाग्ने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जुनारका जरा मजबुत बनाउन विभिन्न खोज तथा अनुसन्धान गरिए पनि समस्याको समाधान हुन नसकेपछि ट्राइफोलिएटलाई एक विकल्पका रुपमा लिइएको कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले बताउनुभयो ।

ट्राइफोलिएटका दानाबाट बिरुवा उमार्ने, बिरुवा हुर्किसकेपछि त्यसमा जुनार सुन्तलाको कलमी गर्दा जुनार र सुन्तलाको बोट धेरै समयसम्म टिकाउ हुने मण्डलले बताउनुभयो । अहिले जुनारको जरामा समस्या देखिएर किसानमा चिन्ता थपिए पनि ट्राइफोलिएटबाट उत्पादन भएका जुनारका बेर्ना रोप्न पाउने अवसर किसानले पाएको उहाँले बताउनुभयो ।

जुनार सुन्तलामा अमिलोपन बढेको, गुलियो पन हराउँदै गएको लगायतका समस्या देखा पर्दा बजार समेत नराम्रो प्रभाव पर्ने भएकाले यो विधि अपनाइएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

ट्राइफोलिएटका दाना बिक्रीका हिसाबले पनि निकै आयमूलक र जुनार व्यवसायमा फाइदा पुग्ने अपेक्षा बोकेका किसानलाई यस वर्ष फलेको ट्राइफोलिएटले निकै खुसी बनाएको छ । एक बोटमा अहिले १२ किलोसम्म उत्पादन भएको र दाना बिक्रीबाट मात्रै झन्डै रु आठ हजार आम्दानी हुने किसान बताउँछन् । किसानका अनुसार ट्राइफोलिएटको एक दानाबाट ६० वटासम्म स्वस्थ र निरोगी बिरुवा तयार गर्न सकिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *