डडेल्धुराको भिषण आगलागी नियन्त्रणमा

Post Date : April 29, 2016 | 12:10 pm

डडेल्धुरा, १७ वैशाख । डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा आज बिहान लागेको आगोले दुई पसल पूर्णतया नष्ट भएको छ । सदरमुकाम बागबजारमा बिहान करिब ७ बजेदेखि लागेको आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

बागबजारस्थित मदन प्रकाश किराना पसल र बैजनाथ कपास उद्योग आगलागीबाट पूर्ण क्षति भएका छन् भने अन्य डेढ दर्जन पसलमा समेत क्षति भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगलागी भएको केही समयभित्रै घटनास्थल पुगेपनि आवश्यक आगलागी नियन्त्रणका औजार नहँुदा आगो नियन्त्रणमा समस्या आएको हो । जिल्लामा रहेको एक मात्र नगरपालिकाको बारुणयन्त्र मर्मतका लागि जिल्लाबाहिर रहेकाले आगो नियन्त्रणमा समस्या भएको सर्वसाधारणको भनाइ छ ।

आगलागी नियन्त्रणका क्रममा तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । सदरमुकाममै आगलागी भएपनि अमरगढी नगरपालिकाको दमकल आगलागी नियन्त्रणका लागि नआएको स्थानीय व्यापारी बताउँछन् ।

समयमै नगरपालिकाको दमकल नआउँदा आगलागीबाट वढी क्षति भएको स्थानीय व्यापारीको गुनासो छ । आगो नियन्त्रणमा लिन डोजरको प्रयोग गरिएको थियो भने स्थानीय सर्वसाधारणले सहयोग गरेका थिए । आगलागी दुई घन्टापछि मात्रै नियन्त्रणमा आएको हो । (धनबहादुर भण्डारी) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *