डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह

Post Date : July 11, 2017 | 2:57 pm

काठमाडौँ, २७ असार । होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले आफ्ना ग्राहकलाई ३०० अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । यसअघि होटललाई यस्तो सुविधा नुहँदा पर्यटकले सास्ती व्यहोर्ने गरेका थिए ।

होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह डलर सटही सुविधाले होेटललाई सेवा सम्पादन तथा पर्यटक पाहुनाका लागि सहज हुने बताउनुहुन्छ । उहाँले रकमको हिसाबले थोरै देखिए पनि नीतिगत सुरुवात भएको र यसको व्यवस्थापनलाई प्रभावकारी बनाउन थप पहल गरिने बताउनुभयो ।

होटलले अहिलेसम्म ग्राहकलाई सटही सुविधा नदिए पनि बिल तिर्दा भने डलरमै तिर्न पाउने सुविधा दिँदै आएका थिए । अब भने होटलमा बसेका ग्राहकलाई थोरै डलर भए पनि बैङ्क वा मनी एक्सचेञ्जमै गएर साट्नुपर्ने बाध्यता हटेको छ ।

“बारम्बारको आग्रहपछि राष्ट्र बैङ्कले ठूलो निर्णय लिएको छ, यसले होटल व्यवसायमात्र नभई पर्यटन क्षेत्रमै सकारात्मक सन्देश पुगेको छ, अब डलर सटही कसरी व्यवस्थापन गर्नेबारे राष्ट्र बैङ्कले परिपत्र गर्नेछ,” शाहले भन्नुभयो ।

मौद्रिक नीतिअनुसार इजाजत प्राप्त होटलले आफ्नो सेवा बिक्री गर्दामात्र सटही दिन सक्ने व्यवस्था रहेकामा अब उप्रान्त होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम ३०० अमेरिकी डलर बराबरसम्म सटही दिन सक्ने व्यवस्था गरिनेछ ।

भारत भ्रमणमा जानेलाई भारु एक लाखसम्म नगद प्रदान गर्ने व्यवस्था रहेकामा बिरामीबाहेक अन्य विभिन्न प्रयोजनका लागि जाँदा भारु ५० हजारभन्दा बढीको सटही सुविधा लिनुपर्दा अनिवार्य रुपमा कार्ड वा बैङ्किङ उपकरणमार्फत सटही प्रदान गर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

विदेशी मुद्रा सटही सम्बन्धमा अनौपचारिक कारोबारलाई नियन्त्रित गर्ने प्रयोजनका लागि प्रचार–प्रसार बढाउँदै देशका पर्यटकीय तथा मुद्रा सटही कारोबार हुने विभिन्न स्थानमा विदेशी मुद्रा इजाजतप्राप्त संस्थाबाट मात्र साट्नु पर्ने व्यवस्थालाई प्रभावकारी बनाउने जनाइएको छ ।

उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्न जोड दिएको मौद्रिक नीतिले पर्यटन उद्योगलाई अघिल्लो वर्ष झैँ यस वर्ष पनि उच्च प्राथमिकता दिएको छ । आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७३/७४ को प्रथम आठ महिनासम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरका होटल संख्या १२० पुगेको छ ।

सोही अवधिमा तारास्तरबाहेकका पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या ९८५ पुगेको छ भने तारास्तरका होटलको संख्या १० हजार ७१ तथा पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या २८ हजार १७१ पुगेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *