डेढ करोडको लागतमा आँखा अस्पताल निर्माण हुने

Post Date : May 26, 2016 | 3:31 pm

गाईघाट (उदयपुर), १३ जेठ । उदयपुरको सदरमुकाम गाईघाटस्थित आँखा उपचारकेन्द्रको जग्गामा रु एक करोड ५० लाखको लगानीमा नयाँ आँखा अस्पताल निर्माण हुने भएको छ ।

जापानी राजदूतावासमार्फत जापानको ग्राण्ड एसोसियसन फर ग्राक्स ह्युमन सेक्युरिटी प्रोजेक्टको सहयोगमा आँखा अस्पताल निर्माण हुने कुरा आँखा उपचार केन्द्र गाईघाटका व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

भर्खरै उदयपुरको सदरमुकाम गाईघाट आइपुगेका सो शाखाकी व्यवस्थापक कुरोसाका साकिकोले गाईघाटमा आँखा अस्पताल स्थापनाका लागि रु एक करोड ५० लाख रकम आर्थिक सहयोग गर्ने सम्झौता गरेपछि अब आँखा अस्पताल निर्माण हुने भएको अध्यक्ष राउतले बताउनुभयो ।

जिल्लाको सदरमुकाम गाईघाटमा २०५४ सालमा सगरमाथा आँखा अस्पताल सिरहा, लाहानको अनुमतिबाट आँखा उपचार सेवा केन्द्र सञ्चालन हुँदै आएको छ ।

अब सो केन्द्रको एक बिगाहा जग्गामा अन्य बजेटको समेत व्यवस्थापन गरेर आँखा अस्पताल नै निर्माण गर्न लागिएको अध्यक्ष राउतले बताउनुभयो ।

आँखा अस्पताल स्थापना भएपछि उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुसम्मका जनतालाई गाईघाट आँखा अस्पतालले सहजै सुविधा प्रदान गर्न सक्ने आँखा उपचार केन्द्र गाईघाटका पदाधिकारीहरु बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *