तरकारीबाट मासिक डेढ लाख आम्दानी

Post Date : August 11, 2016 | 4:18 pm

रामपुर (पाल्पा), २७ साउन । सहलकोट भाङ्बारीका अगुवा कृषक यमबहादुर मश्राङ्गीले तरकारी खेतीबाट मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दैैआउनुभएको छ ।

सात वर्ष अगाडि बेरोजगार रहनुभएका मश्राङ्गी अहिले जिल्लामै नमुना तरकारी उत्पादक कृषकका रुपमा परिचित हुनुहुन्छ । स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण हुने कृषि कार्यक्रमबाट प्रभावित भई उहाँले विगत सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ ।

तरकारी खेतीमा समर्पित उहाँले आफ्नै करिब १० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक मनग्य आम्दानी गर्दैआउनुभएको छ । मेहनत र परिश्रमले नै पर्याप्त आम्दानी गर्न सकको उहाँ बताउनुहुन्छ । गत असारमा मात्रै गोलभेँडा, सिमी, खुर्सानी र बोडी बेचेर मश्राङ्गीले रु एक लाख ५० हजार आम्दानी गर्नुभएको छ ।

रेडियोबाट बज्ने कृषि कार्यक्रमबाट प्रभावित भएर तरकारी खेतीमा लाग्नुभएका मश्राङ्गीले चार छोराछोरीलाई शिक्षा दिनुभएको छ । “छोराछोरीलाई पढाउन सक्ने अवस्था थिएन, अहिले तरकारी बेचेर बोर्डिङ र क्याम्पसमा भर्ना गरिदिएको छु,” उहाँले भन्नुभयो ।

तरकारीको कमाइ बचत गरी उहाँले बैंकमा समेत जमा गर्दैआउनुभएको छ । मश्राङ्गीले रामपुरको बेझाड बजारको तरकारी सङ्कलन केन्द्रमा दैनिक चार क्विन्टलसम्म तरकारी बिक्री गर्न ल्याउने गरेको तरकारी व्यापारी ओमप्रकाश रेग्मी बताउनुहुन्छ । अगुवा कृषक मश्राङ्गीले गाउँमा उत्पादित अन्य कृषकको पनि तरकारी खरिद गरी बजारसम्म पुरयाउने गर्नुहुन्छ ।

रामपुरदेखि सहलकोट जोड्ने सडकको स्तरोन्नति गर्न सकेको खण्डमा भाङबारी क्षेत्रलाई तरकारी उत्पादनको नमुना क्षेत्रका रुपमा चिनाउन सकिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला बताउनुहुन्छ । कार्यालयले युवा लक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत रु ४० हजार रकम अनुदानमा उपलब्ध गराएको उहाँको भनाइ छ ।

बाटोकै समस्याका कारण यहाँका कृषकले भनेको समयमा गाउँमा उत्पादित तरकारी बजारमा पुरयाउन सकिरहेका छैनन् । बाटो सहज भएको अवस्थामा दिनहुँ करिब १० क्विन्टलसम्म तरकारी रामपुरको बेझाड बजारमा भित्रने यहाँका व्यापारी बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *