तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

Post Date : February 27, 2017 | 6:20 pm

पथरी (मोरङ), १६ फागुन । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ ।

आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्यो ।

अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि सुरु गरेको व्यावसायिक तरकारी खेतीले दास परिवारलाई अहिले मालिक मात्र होइन जिल्लामा सबै सामु परिचित समेत गरायो । दास परिवारले अहिले जिल्लामै धेरै तरकारी उत्पादन गर्ने कृषकका रुपमा पहिचान बनाउन सफल भएको छ ।

खेती सुरु गरेको पहिलो वर्ष यामलालले रु दुई लाख नाफा कमाउनुभयो । छ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले भन्नुभयो – “सुरुदेखि अहिलेसम्म मैले घाटा व्यहोरेको छैन ।”

अहिले पाँच बिगाहा जमिनमा तरकारी खेती विस्तार भएको छ । मेहनत ग¥यो भने तरकारी खेतीबाटै अहिले वार्षिक रु पाँच लाख आम्दानी गर्न सकिने यामलालको तर्क छ । तरकारी खेतीमा उहाँको परिवारको उत्तिकै साथ छ ।

परिवारको अवस्था एकदमै कमजोर हुँदा गाउँका सबैले हेप्थे । त्यसपछि तरकारी खेती सुरु गरेका उहाँ अहिले तरकारी खेतीकै कारण समाजमा आफ्नो ठूलो इज्जत बढेको बताउनुभयो । यामलाले भन्नुभयो – “तरकारी खेतीले मलाई नमुना कृषकका रुपमा परिचित गरायो ।”

तरकारी खेतीको आम्दानीबाट दुई बिगाहा खेती र १० कट्ठा घडेरी जोड्नुभएको छ । दास परिवारले सो खेतमा धान, गहुँ, मुसुरो, आलु, पाटा, सुठुनी तथा मौसमअनुसारका सबै तरकारी लगाउने गर्नुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले भन्नुभयो – “दासजस्तै १० जना कृषक महादेवा गाविसमा हुने हो भने तरकारी उत्पादनमा मोरङ जिल्लालाई धान्ने छ । ” सो कार्यालयले दास परिवारलाई युवा स्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिँचाइ कार्यक्रमबाट पम्पसेट, बोरिङ र तरकारी खेती तालिम दिएपछि उहाँ थप हौसिनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *