तरकारी बेचेर वार्षिक पन्ध्र लाख

Post Date : July 10, 2017 | 3:57 pm

बागलुङ, २६ असार । यहाँको एक कृषि समूहले वार्षिक रु १५ लाख बराबरको तरकारी उत्पादन गर्दै आएको छ ।

गलकोट नगरपालिका–११ रिघाको मिलिजुली कृषि समूहले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो । एकै याममा रु पाँच÷छ लाखको तरकारी बेच्ने गरेको समूहका अगुवा किसान जितबहादुर रानामगरले बताउनुभयो । अठार रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले बाह्रैमास उत्पादन दिने गरेको उहाँको भनाइ छ । किसानले भाडा, तलब र अन्य व्यवस्थापन खर्च कटाएर आम्दानीको आधा रकम नाफा लिने गरेका छन् ।

समूहमा चारजना किसान आबद्ध रहे पनि मुख्य जिम्मेबारी रानामगरको काँधमा छ । “हामी चार जनाको लगानी छ, काममा भने म मात्र खटिएको छु”, रानामगरले भन्नुभयो, “कृषि कर्मले सन्तुष्टि दिएको छ, हामी सफल छौँ ।” समूहले रिघाको फेदीमा र नजिकै पर्ने बढीगाड गाउँपालिका–२ खरबाङ्मा गरी दुई स्थानमा जग्गा भाडा लिएर तरकारी खेती गरिरहेको छ । वार्षिक रु ४५ हजारमा जग्गा भाडामा लिएर सूमहले छ वर्षअघि देखि व्यावसायिक तरकारी खेती सुरु गरेको हो ।

“शुरुमा रु नौ लाख लगानी ग¥र्यौं, अहिले लगानी बढेर रु २५ लाख पुगेको छ”, रानामगरले भन्नुभयो । बाह्रवटा प्लास्टिक घर (टनेल)मा मौसमी÷बेमौसमी सबैखाले तरकारी उत्पादन हुने गरेकोे छ । समूहले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । उक्त अनुदान रकमबाट तरकारी खेती विस्तार गर्दै जाने योजनामा समूह लागिपरेको छ । यही वर्ष थप उच्चस्तरीय प्रविधिको प्लास्टिक घर (टनेल) थपेको समूहका अर्का किसान शेरबहादुर श्रीशले बताउनुभयो । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको अनुदानबाहेक अन्य निकायबाट कुनै पनि सहयोग नपाएको उहाँको भनाइ छ ।

समूहले मुख्यगरी गोलभेँडा, काउली, बन्दा, सिमी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन गर्दै आएको छ । प्लास्टिक घर (टनेल)मा मलेसियाली सिमीसमेत उत्पादन भइरहेको किसानको भनाइ छ । त्यहाँ उत्पादन हुने तरकारी खरबाङ्, हटिया, गुल्मीको टक्सार लगायतका बजार क्षेत्रमा बिक्री हुने गरेको छ । तरकारी उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसान बताउँछन् । मिलीजुली कृषि समूह जिल्लामै नमुनाका रुपमा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषिको व्यावसायिकीकरणमा समूहले राम्रो उदाहरण दिएको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताउनुभयो । “आफ्नै पहलमा किसानले ठूलो लगानी गरेका छन् , हामी पनि उनीहरुलाई प्रेरित गर्न खोजिरहेका छौँ”, अधिकृत आचार्यले भन्नुभयो, “व्यावसायिक किसानलाई कार्यालयबाट पनि राम्रो सहयोग हुन्छ ।” कृषि विकास मन्त्रालयले ल्याएको कृषि तथा व्यापार आयोजनाबाट जिल्लाका कृषितर्फ सात र पशुपालनतर्फ १४ जनाले रु १० लाखका दरले सरकारी अनुदान पाएपछि किसान पनि उत्साहित हुँदै परम्परागत खेतीमा उच्च प्रविधि अपनाएर उत्पादन बढाउनेतिर लागिपरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *