तरलताको तनाव कम गर्ने कोसिस

Post Date : July 14, 2016 | 6:55 pm

काठमाडौँ, ३० असार । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको तरलता व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्ने थप कोसिस गरिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आगामी आवको मौद्रिक नीतिले अधिक तरलतालाई सम्बोधन गर्न आवश्यकताअनुसार तरलता व्यवस्थापनका औजार प्रयोग गर्ने नीति लिएको हो ।

राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिका उद्देश्य र तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले निर्धारण गरेको तरलता परिणामलाई आधार बनाइ खुला बजार कारोबार समितिले आवश्यकताअनुसार दुई हप्ता अवधिको निक्षेप सङ्कलन बोलकबोलका लागि आह्वान गर्ने जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७२/०७३ मा मुलुकले भोग्नुपरेको प्राकृतिक विपत्ति र आर्थिक नाकाबन्दीका कारण कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनमा चुनौती थपिँदै गएको हो ।

त्यसैगरी उहाँले निक्षेप सङ्कलन बोलकबोल बहुब्याजदरमा र बैंक ऋणपत्र बोलकबोल एकल ब्याजदरमा निष्कासन गरिने पद्दतिलाई यथावत् कायम गरिएको उल्लेख गर्नुभयो ।

नीतिले सोझै बिक्री, खरिद, डिपो र रिभर्स रिपो बोलकबोलजस्ता खुला बजार उपकरणको साविककै व्यवस्था बमोजिम अगाडि बढ्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।

बैंकले २०७२ साउनदेखि २०७३ असार २९ गतेसम्ममा विभिन्न खुला बजार कारोबार उपकरणमार्फत रु ५८८ अर्ब ५९ करोड तरलता प्रशोचन गरेको थियो ।

त्यस्तै २०७२ साउनदेखि २०७३ असार २४ सम्म विदेशी विनिमय बजारबाट अमेरिकी डलर चार अर्ब २६ करोड खुद खरिद गरी रु ४५० अर्ब ५४ करोड बराबरको खुद तरलता प्रवाह गरेको थियो । सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ४० करोड र युरो १३ करोड ५० लाख बिक्री गरी रु ३७६ अर्ब तीन करोड बराबरको भारु खरिद गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *