तिलतालीको बाढी: करोडौँको क्षति, धेरैको उठिबास

Post Date : June 9, 2016 | 4:56 pm

डोटी, २७ जेठ । बुधबार राति आएको बाढीले डोटीमा करोडौँको क्षति भएको छ । डोटीको लाटामाण्डौ गाविसको तिलतालीमा गएराति वर्षासँगै आएको बाढीले ठूलो क्षति गरेको हो ।

स्थानीय जिजौडाखोला, किनमणेखोला, बन्नाखोला र खुनखोलामा एक्कासि आएको बाढीले गाउँलाई पुरेको छ भने खेतीलाई नोक्सान गरेको छ ।

गाउँमा रहेका स्थानीयवासीका घर, आँगन, चर्पी, करेसाबारी, गाई बाँध्ने गोठ, घरमा पसेको बाढीले ठूलो क्षति पु¥याएको घटनास्थलबाट प्रहरी चौकी तिलतालीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर रोकायाले राससलाई बताउनुभयो । दलित बस्तीमा भाँडाकुँडा बनाउने मेसिन राखेका घर टहरालाई समेत बाढीले पुरेको बताइएको छ । करिब १५० भन्दा बढी घरमा पसेको पानीले घरका तल्लो तलालाई पूर्णरुपमा क्षति पु¥याएको छ ।

तिलतालीमा रहेका खानेपानीका ४५ वटा घारा, पानीका मुहानसमेत नष्ट भएको प्रहरी सहायक निरीक्षक रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो – “स्थानीयवासीले करिब एक सयभन्दा बढी रोपनीमा लगाएको बदाम समेत बाढीले नष्ट गरेको छ ।” करिब १५ मिनेटसम्म भएको वर्षाले करोडौँको सम्पत्ति बगाएको स्थानीय पीडित गौमती बलायरले बताउनुभयो ।

“खाना पकाइरहेका बेला एक्कासि आकाश गर्जियो, बिजुली चम्कियो, वर्षा भयो, आँगनमा रहेका भिज्ने सामान भित्र राख्न नपाउँदै खहरेखोला गर्जिएर आए, हतार हतार माथिल्लो तलामा दौडिएर बाँचे,” उहाँले भन्नुभयो ।

गएरातिकै बाढीमा परेर तिलतालीकी ९६ वर्षीया तलुदेवी टमटा गम्भीर घाइते हुनुभएको छ । उहाँको सुजङ अस्पताल, राजपुरमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । लाटामाण्डौ गाविसकै वडा नं ८ गोपघाट बजार नजिकै आठ वटा घरसमेत बाढीको जोखिममा रहेका छन् । थप पानी परे खोलाको किनारका ती घर बग्ने सम्भावना रहेको छ ।

सोही ठाउँका हर्क बलायरको पक्की घर पूर्णरुपमा भत्केको छ भने अर्जुन बलायरका दुई वटा दुहुना भैँसी पुरिएका छन् । घरको आँगनमा बाँधिएका भैँसीलाई एक्कासि आएको बाढीले पुरेको हो ।

बुधबारकै बाढीबाट बनलेक गाविसका ३, ४ र ५ वडाका ४५ वटा घर सार्नुपर्ने बाध्यता रहेको छ । एक्कासि आएको बाढीले बगाएर ल्याएका ४० टनभन्दा गह्रौँ ढुङ्गा र बालुवाले बस्तीका खेतबारीलाई बगरमा परिणत गरिदिएको छ । लगाइएको बाली र घर जोखिममा रहेपछि बस्ती सार्नुको विकल्प नभएको स्थलगत भ्रमणमा रहेका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले बताउनुभयो ।

एक्कासि आएको बाढीका कारण डोटीका छुट्टाछुट्टै स्थानमा करोडौँको क्षति भएको छ । (खेम बम) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *