तीन करोड राजस्व सङ्कलन

Post Date : July 4, 2016 | 3:52 pm

वीरगन्ज, २० असार । वीरगन्ज उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि विद्युत् चोरी, अनियमितता एवम् महसुल नतिर्ने ग्राहकलाई कारबाही गरी रु तीन करोड ३० लाख विद्युत् महसुल सङ्कलन गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र वीरगन्जका अनुसार मधेस आन्दोलन र अन्य असुरक्षाका कारण लामो समयदेखि विद्युत् अनियमिता गर्ने करिब ५०० ग्राहकको विद्युत् कटौती गरी विगत तीन महिनामा उक्त रकम असुल गरिएको हो । कार्यालय प्रमुख चुटुनकुमार श्रीवास्तवले छ महिनाभन्दा बढी समयदेखि विद्युत् महसुल नतिरी कालोसूचीमा परेकाहरुबाट रु २० लाख ६५ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो ।

करिब ५९ हजार विद्युत् ग्राहक रहेको सो कार्यालयले तीन महिनामा विद्युत् चुहवाट गर्ने ८० जनालाई कारबाही गरी रु नौ लाख जरिवाना गरी राजस्व सङ्कलन गरेको छ । मासिक रु १६ करोड मूल्य बराबरको विद्युत् बिक्री वितरण गर्ने कार्यालयले पुरानो बाँकी बक्यौता तथा मासिक महसुलबाट प्रतिमहिना १०९ प्रतिशत राजस्व सङ्कलन गरिरहेको श्रीवास्तवको भनाइ छ ।

त्यस्तै कार्यालयले विद्युत् चुहावट तीन प्रतिशतमा झारेको दाबी गरेको छ । विद्युत् चोरी अनियमितता, तार चोरीलगायतका कार्य नियन्त्रण भइरहेको र सेवाग्राहीको काम छिटो छरितो रुपमा सम्पन्न भएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *