तीन नयाँ क्लियरिङ बैंक थपिने

Post Date : February 26, 2017 | 11:08 am

काठमाडौँ, १५ फागुन । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीनवटा क्लियरिङ बैंक थप्ने प्रक्रिया शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ स्वीकृत भएपछि सीडीएसलाई क्लियरिङ बैंक थप गर्न बाटो खुलेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निर्देशनअनुसार सीडीएसले यो प्रक्रिया अघि बढाएको हो । सीडीएस नेप्सेको पूर्ण स्वामित्व रहेको कम्पनी हो ।

प्रतिस्पर्धात्मक रूपमा क्लियरिङ बैंक थप गर्न माग गरिएको आशयपत्रमा इच्छुक कम्पनीहरू ‘क’ वर्गको वाणिज्य बैंक हुनु पर्ने, चुक्ता पूँजी बढी भएको, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको, आस्बा प्रणालीको सदस्य भएको डीपी लाइसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको र सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डलाई मध्यनजर बनाइएको नेप्सेले जनाएको छ ।

यो प्रक्रियाबाट तीन क्लियरिङ बैंक थपेपछि धितोपत्र लगानीकर्तालगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहज हुने नेप्सेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *