तीन हजारलाई रोजगारी

Post Date : June 5, 2016 | 7:36 am

मोरङ (पथरी), २३ जेठ । विराटनगरमा सञ्चालित साना होटलले तीन हजार सर्वसाधारणलाई रोजगार दिएका छ ।

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल तथा पेय पदार्थ व्यवसायी सङ्घको तथ्याङ्कअनुसार महिला र पुरुष दुवै गरेर तीन हजारले होटल तथा पेय पदार्थ व्यवसायी सङ्घबाटै कामदारको परिचय पत्र लिएका छन् ।

विराटनगरमा सञ्चालित नौ सय साना होटलले कुक, वेटर, सरसफाइ गर्ने मजदुर, सामान आयात गर्ने, भाँडा धुनेदेखि लिएर गीत गाउने र नृत्य गर्नेसम्मको काम गर्ने मजदुरहरु साना होटलमा कार्यरत रहेका छन् ।

होटल तथा पेय पदार्थ व्यवसायी सङ्घ विराटनगरका अध्यक्ष बलराम कारञ्जीतका अनुसार तीन हजारमा एक हजारको हाराहारीमा महिला कर्मचारी रहेका छन् । उनीहरुले होटलमै काम गरेर जीवन निर्वाह गर्दै आएका छन् ।

जेफालेडाँडाको पर्यटन प्रवर्द्धन हुदै

उत्तरी मोरङको सिंहदेवी गाविस वडा नं ५ मा रहेको जेफालेडाँडामा होमस्टे सञ्चालन भएपछि पर्यटक आकर्षण केन्द्र बन्दै गएको छ ।

छोटो समय र थोरै बजेटमा सहर बजारका मानिस उत्तरी मोरङको रमणीय पर्यटकीयस्थलमा पर्ने सिंहदेवीको जेफालेडाँडा घुमघाम गर्न आउने गरेका छन् ।

सिंहदेवी गाविस रहेको भ्यू टावर पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिन्छ । उक्त स्थानबाट १६ जिल्ला सहजै अवलोकन गर्न सकिन्छ भने भारतका केही स्थानसमेत देख्न पाइन्छ ।

स्थानीय होमस्टे व्यवसायी भीमबहादुर ठकुरीका अनुसार जेफाले क्षेत्रमा पाँच वटा होमस्ट सञ्चालनमा छन् । तर आन्तरिक तथा बाह्य पर्यटकलाई पर्याप्त मात्रामा आवास नहुँदा समस्या भएको पर्यटक तेजन खड्काले बताउनुभयो ।

सो क्षेत्रमा ४५ जनाको समूहलाई सहज र सुलभ तरिकाले खान र बस्नको सुविधा रहेको जेफाले पर्यटन विकास समितिका सचिव भीमबहादुर ठकुरीको भनाइ छ ।

खानेपानीको समस्याका कारण पर्यटकलाई समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । गर्मीयाममा पनि मुटु काम्ने जाडो जेफालेको विशेषता रहेको हो । धनकुटा र मोरङको सिमानामा पर्ने जेफालेमा पर्यटक आउने क्रम बढिरहेको छ ।

धार्मिक र सांस्कृतिक मानिएको पाथिभारा मन्दिर, ऐतिहासिक किंवदन्ती रहेको तीनचाने ढुङ्गा र होमस्टेको अवलोकन, रात्रिकालीन सांस्कृतिक नित्य र मनोरञ्जन लिन सक्ने समितिका सचिव ठकुरी बताउनुहुन्छ ।

पूर्वी मोरङको महेन्द्र राजमार्गमा पर्ने खोर्सानेदेखि लगभग ४० किमी उत्तर पूर्वमा रहेको यो सुगम जिल्लाको दुर्गम गाविस हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *