थारु होमस्टे सञ्चालन

Post Date : May 12, 2016 | 6:26 pm

रत्ननगर (चितवन), ३० वैशाख । पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) सञ्चालनमा आएको छ ।

पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिनुभयो । खैरहनी नगरपालिका–१३ हर्नरीमा थारु होमस्टे निर्माण भएको हो । स्थानीय विका महतो र सेना महतोलगायत चारवटा होमस्टेमा पर्यटक राख्नसमेत सुरु गरिएको छ ।

सोही क्षेत्रमा दुईवटा तामाङ होमस्टे निर्माणको कामसमेत सम्पन्न भएकाले निकट भविश्यमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पर्यटकको बसाइँ लम्ब्याउन यहाँ थारु र तामाङको १०÷१० वटा होमस्टे निर्माण गर्ने योजना रहेको स्थानीय संरक्षणकर्मी ईश्वरी पाठकले बताउनुभयो । ती होमस्टे निर्माणका लागि सांसद सुरेन्द्र पाण्डेको सांसद विकास कोषबाट रु १० लाख सहयोग प्राप्त भएको छ ।

यस्तै बुढी राप्ती उपभोक्ता समितिले रु सात लाख र खैरहनी नगरपालिकाले रु दुई लाख सहयोग गरेको छ । अपुग रकम रु दुई लाखका दरले सञ्चालक आफैँले लगानी गर्ने गरी निर्माण सुरु भएको स्थानीयवासी गोविन्द दराईले बताउनुभयो । होमस्टेका लागि काठपात स्थानीय सामुदायिक वनले उपलब्ध गराउने छ ।

यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय वनको सहयोगमा यहाँ पाँचवटा दराई होमस्टे निर्माण गरिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *