दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा अवैध बाटोबाट भित्रिँदै

Post Date : July 25, 2016 | 6:27 pm

काठमाडौं, १० साउन । विदेश गएका नेपालीले अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा ६ खर्ब १७ अर्ब रुपैया बराबर रेमिट्यान्स पठाएका छन् । गत आ.व. २०७१/७२ को जेठ मसान्तसम्ममा ५ खर्ब ५१ अर्ब रुपैया रेमिट्यान्स भित्रिएकोमा आ.व. २०७२/७३ जेठ सम्ममा ५ खर्ब ९८ अर्ब रुपैया बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७२ असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिती ८ खर्ब २४ अर्ब ६ करोड रुपैयाबाट २४ प्रतिशतले वृद्धि भई १० खर्ब २१ अर्ब ७४ करोड रुपैया बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ । यो विदेशी विनिमय सञ्चिती करिब १६.८ महिना वस्तु आयात र करिब १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिन्छ ।

वैदेशिक रोजगार विभागका अनुसार अहिले ३७ लाखभन्दा बढी नेपाली विश्वका विभिन्न देशमा काम गरिरहेका छन् । तिनै कामदारले पठाएको वैदेशिक मुद्रा नै देशको मुख्य आयस्रोत बनेको छ ।

अहिले दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा भने अवैध बाटोबाट भित्रिने गरेको छ । दक्षिण कोरियाबाट ९६ प्रतिशत रकम हुण्डी मार्फत आउने गरेको छ । दक्षिण कोरियाबाट ४ प्रतिशत रकम मात्रै वैधानिक (बैंक तथा रेमिट्यान्स कम्पनी) माध्यमबाट आउने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

दक्षिण कोरिया गएका कामदारको संख्यालाई हेर्दा त्यहाँबाट वार्षिक ४२ अर्ब रुपैया बराबरको रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा २ अर्ब रुपैया बराबरको रेमिट्यान्स मात्र बैंकिङ्ग च्यानलबाट भित्रिएको देखिन्छ । बाँकी ४० अर्ब रुपैया बराबरको रेमिट्यान्स हुण्डीमार्फत भित्रिने गरेको तथ्याङ्कले देखाउँछ । बैंकिङ्ग च्यानलबाट रकम पठाउँदा चर्को शुल्क, बढी समय र झन्झटिलो प्रक्रिया व्यहोर्नु पर्ने भएकोले हुण्डीमार्फत पठाउने गरेको पाइएको छ । वैधानिक च्यानलबाट रकम भित्र्याउन सरकार असफल भए पनि आउँदा दिनहरूमा यसलाई अझ कडाई गरी वैधानिक च्यानलबाट रकम भित्र्याउन सके देशको विदेशी मुद्राको सञ्चिती अझ बढ्ने थियो । नेपाल आयातमुखी अर्थतन्त्र भएको देश भएकोले विदेशी मुद्राको अहम् भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *