दशैँ र तिहार नजिकिँदै गर्दा प्रहरी प्रशासनको सजगता

Post Date : September 12, 2016 | 10:09 am

काठमाडौं, २७ भदौ । नेपालीहरूको महान पर्व दशैँ र तिहार नजिकीन लाग्दा प्रहरीहरूले सजगता अपनाउन थालेको छ । आर्थिक क्रियाकलाप हुने मुख्य मुख्य ठाउँहरूमा प्रहरी निगरानी बढाइसकेको छ ।

बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सुनचाँदीका गरगहना पसल, विप्रेषण काउण्टर र मुख्य व्यापारिक कारोवार हुने स्थानहरूमा सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी बढाइसकेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले पहिलो चरणमा एकसय पचास जना प्रहरी सादा पोशाकमा परिचालन गरिसकेको छ । आवश्यकता अनुसार थप संख्या परिचालन हुने जनाइएको छ ।

महाशाखाका एसपीहरू वित्तीय क्षेत्रको सुरक्षार्थ खटिएका छन् । त्यस्तै डिएसपीदेखि जवानसम्मको समूह बनाएर टोली परिचालित गरिएका छन् । सातजनाको समूह बनाएर मुख्य बजारको सुरक्षामा खटिएका छन् । प्रहरीको टोली अहिले राजधानीका मुख्य चोक, चोरी, पकेटमार, ठगी र लुटपाट हुने स्थानमा खटिएका छन् ।

न्यूरोड, बागबजार, दरवारमार्ग, ठमेल, पुतलीसडक, नया बानेश्वर, पुरानो बानेश्वर, चाबहिल, नया बसपार्क, असन, इन्द्रचोक, कोटेश्वर, गौशाला, लगनखेल, जावलाखेल जस्ता मुख्य स्थानहरूमा सादा पोशाकमा हतियारसहित प्रहरी खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *