दसैँका लागि नागरिक सहायता कक्ष सञ्चालन

Post Date : September 23, 2016 | 1:58 pm

काठमाडौँ, ७ असोज । महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष आजदेखि सञ्चालन गरिएको छ ।

दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सावारी चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याइएको हो ।

यहाँ आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्यूनीकरण गर्न सबैको सहयोगको खाँचो औँल्याउनुभयो । उहाँले सो कक्ष सञ्चालन भएपछि त्यस क्षेत्रमा यातायात क्षेत्रका बिचौलियाको अन्त्य हुने र सेवाप्रदायक तथा उपभोक्ता दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा सो कक्ष सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै बल्खु, कलङ्की र नयाँ बसपार्कबाट सेवा सुरु भएको बताउनुभयो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष विजयबहादुर स्वाँर, नेसनल अटोमोबाइल डिलर एसोसिएसन अफ नेपालका सचिव कृष्णप्रसाद दुलाल, व्यवसायी रत्नकुमार श्रेष्ठ, रामकृष्ण कुँवर र स्थानीय समाजसेवी मोहनकुमार बस्नेतले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक, व्यवसायीको सहकार्य र समन्वयको जरुरी रहेको बताउनुभयो ।

स्थानीय सिखरापुर यातायात लिका अध्यक्ष गुन्जमानसिंह बस्नेतले बारा, पर्सा, रौतहट, मकवानपुर क्षेत्रका यात्रुहरु त्यस मार्ग भई आवतजावत गर्ने जानकारी दिँदै दैनिक दुई हजार भाडाका सवारी साधन त्यस क्षेत्रमा गुड्ने हुँदा सडक निर्माण कार्य चाँडो सम्पन्न गर्न माग गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *