दसैँतिहारपछि सुदूर पहाडमा जात्राको रौनक

Post Date : November 8, 2016 | 1:57 pm

बैतडी, २३ कात्तिक । हिन्दू नेपालीको महान् चाड दसैँ तथा तिहार सकिएलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने विभिन्न मन्दिरमा जात्रा तथा मेलाको समय सुरु भएसँगै रौनकता छाएको छ ।

परम्परागतरुपमा देवीदेवताका मन्दिरमा कार्तिक शुक्ल पक्षमा पूजाआजा हुने गरेको स्थानीयले बताएका छन् । बैतडीको त्रिपुरासुन्दरी भवगती मन्दिरमा सोमबार र मङ्गलवार मेला लाग्ने भएको छ । मेलामा राँगा र बोकाको बलि दिइने गरिन्छ । स्थानीय भाषामा रणशैनी नामले प्रसिद्ध सो मन्दिरको दर्शन गर्नकालागि सुदूरपश्चिमका साथै सीमावर्ती भारतको झुलाघाट, पिथौरागढलगायतका ठाउँबाट पनि भक्तजन आउने गर्दछन् । यस्तै, मेलौली भगवती मन्दिर र रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने चलन रहिआएको बताइएको छ ।

जिल्लाका रौलाकेदार, महारुद्र मन्दिर, श्रीकोटमा रहेको भिटाकेदार मन्दिर, सुरपाल मन्दिरलगायतका ठाउँमा कार्तिक शुक्ल पक्षमा पूजाआजा तथा जात्रा हुने गरेको छ । कार्तिक शुक्ल अष्टमीका दिन धेरै मन्दिरमा पूजाआजा तथा जात्रा हुने गरेको छ भने धेरैजसो मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा हुने गरेको छ ।

यस्तै, दार्चुलाको प्रसिद्ध मालिकार्जुन धाममा समेत कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा तथा मेला लाग्ने गर्दछ । दार्चुलाकै लटिनाथ मन्दिर, बन्तोली, देवथली, जैपुर, बल्लेख, पाती र लेकगाउँलगायतका ठाउँमा मेला तथा जात्रा लाग्ने स्थानीय पङ्कज धामीले जानकारी दिनुभयो ।

डडेल्धुरामा रहको उग्रतारा मन्दिर, कैलपाल मन्दिर, बझाङ र बाजुरामा घोडेजात्रा, डोटीमा रहेको दुर्गामन्दिर, अछामको जामा केदार, मुजाबगरमा पनि मेला लाग्ने गर्दछ ।

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिका बेला मन्दिरमा पूजाआजा हुने भएपनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो । रासस (Photo: http://www.sundarsudurpaschim.org/2015/06/blog-post_61.html)

Leave a Reply

Your email address will not be published. Required fields are marked *