दालचिनीबाट वार्षिक दुई करोड भित्रियो

Post Date : May 13, 2016 | 4:16 pm

रामपुर (पाल्पा), ३१ वैशाख । कोलडाँडा गाविसस्थित सत्यवती गाउँका बासिन्दाले दालचिनीबाट मनग्य आम्दानी गरेका छन् ।

जिल्ला वन कार्यालयको सहयोगमा आठ वर्षदेखि यहाँ किसानले दालचिनी लगाउँदै आएका हुन् । आयआर्जनको भरपर्दो र दिगो व्यवसाय अहिले दालचिनी बनेको छ । दिनहुँजसो पात टिप्ने, बोक्रा ताछ्ने, सुकाउनमै किसान व्यस्त रहन्छन् । बर्सेनि प्रतिपरिवारले रु दुई लाखभन्दा बढीको बोक्रा बिक्री गर्छन् ।

दालचिनीको आम्दानीलाई स्थानीयवासीले गाउँमा मोटरबाटो निर्माण, विद्युतीकरण लगायतका कामका लागि समेत खर्च गर्ने गरेका स्थानीय पार्वती चिदीले बताउनुभयो । दालचिनीकै आम्दानीको भरमा आफ्ना छोराछोरीलाई बोर्डिङमा पढाउन थालेको स्थानीयवासी वसन्ती गाहा बताउनुहुन्छ ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रबहादुर भाटका अनुसार कोलडाँडामा मात्र दालचिनीबाट वार्षिक रु दुई करोड भित्रिन्छ । उक्त गाउँ बीउ उत्पादनको पकेट क्षेत्र समेत हो । वन कार्यालयकै समन्वयमा वार्षिक १० क्विन्टल बढी बीउ यहाँबाट अन्य जिल्लामा निर्यात हुन्छ ।

दालचिनीको बोक्रा गाउँको सङ्कलन केन्द्रमा प्रतिकिलो रु १०० तथा पात प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरिँदै आएको स्थानीय देवबहादुर गाहाले बताउनुभयो । दालचिनी लगाएको जङ्गलमा डढेलो नलाग्ने, लगाएको तीन वर्षपछि आम्दानी लिन सकिने भएपछि यहाँका किसानको दिगो व्यवसाय बनेको छ । एक वर्षमा करिब १० महिनासम्म निरन्तर पात बिक्री गर्न सकिन्छ ।

सरकारले स्वदेशमै प्रशोधन गर्न सके दालचिनीबाट थप आयआर्जन गर्न सकिने स्थानीय कृषकहरु बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *