दुई सहकारी एकीकृत

Post Date : May 29, 2017 | 5:41 pm

काठमाडौँ, १५ जेठ । बलम्बुस्थित हसना बचत तथा ऋण सहकारी र गुर्जुधारास्थित भास्तिपुर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् ।

दुवै संस्था एक भएपछि हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाका नामबाट कारोबार हुन थालेको र सो संस्थाको एकीकृत कारोबार रकम रु ६२ करोड ९४ लाख १७ हजार पुगेको छ ।

एकीकरण पछि सो संस्थाको सेयर पुँजी रु तीन करोड दुई लाख ५० हजार पुगेको छ भने रु ५२ करोड ५४ लाख ३८ हजार बचत सङ्कलन भएको छ । संस्थाले रु ४८ करोड १७ लाख ३९ हजार ७०० कर्जा प्रवाह गरेको छ ।

नवनिर्वाचित चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले एकीकृत संस्थाको आज यहाँ आयोजित साधारणसभा शुभारम्भ गर्र्दै एकीकरणबाट संस्थाको आर्थिक सबलीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरका प्रत्येक नागरिक आर्थिकरुपमा सबल हुनुपर्नेमा जोड दिँदै सबैले बचत गर्ने र आवश्यकताअनुसार लगानी गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत सहकारीका अध्यक्ष नारायणकृष्ण महर्जनले चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारी नगरप्रमुख गिरी, उपप्रमुख लिसा नकर्मी, १२ वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडासदस्य द्रोपदी ज्ञवाली (मीना), दलित सदस्य अस्मिता बयलकोटी खुला सदस्यद्वय भीमलाल महर्जन र प्रदीप अधिकारीलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नीरबाराही गणका प्रहरी उपरीक्षक रत्न पोखरेल, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पँगेनीलगायतलाई पनि सम्मान गरिएको थियो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *