दुर्गम बस्तीका ५७ परिवारलाई सोलार

Post Date : July 5, 2016 | 12:48 pm

उर्लाबारी (मोरङ), २१ असार । सुगम जिल्लाको दुर्गम गाउँ भनेर चिनिने मोरङको रमितेखोलाका ५७ घरपरिवारलाई सोमबार सोलार बत्ती वितरण गरिएको छ ।

नेकपा (एमाले) की सांसद राज्यलक्ष्मी गोल्छाको सांसद विकास कोषमा रहेको रु तीन लाख ५० हजार, जिल्ला विकास समिति मोरङको रु एक लाख ५० हजार र रमितेखोला गाविसको रु ७० हजारको लागतमा ती घरपरिवारलाई सोलार बत्ती वितरण गरिएको हो ।

अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको रमितेखोलामा यो सोलार वितरणपछि गाविसको ३, ४ र ९ नम्बर वडा अन्धकारमुक्त भएको नेकपा (एमाले) मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । मोरङको कर्णाली भनेर समेत चिनिँदै आएको रमितेखोला गाविसको जनसङ्ख्या तीन हजार ७०० रहेको छ ।

विकास निर्माणप्रति नगरवासीको चासो

यसैबीच, मोरङको उर्लाबारीका अधिकांश नगरवासीले नगरभित्रका विकास निर्माणप्रति चासो देखाएका छन् ।

नगरपालिकामार्फत सञ्चालन भइरहेका योजनामा अधिकांश नगरवासीको चासो देखिएको हो । उर्लाबारी नगरपालिकाले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७२/७३ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा जिज्ञासा राख्ने अधिकांश सहभागीले यस्तो चासो देखाएका हुन् । उनीहरुले नगरभित्रको अवस्थित सहरीकरण, व्यवस्थित ढल निकास नहुँदा नगरवासीले बर्खाको समयमा भोग्नुपरेका समस्या, गुणस्तरहीन कालोपत्रे, यसै आवभित्र सम्पन्न हुनुपर्ने केही योजना सम्पन्न हुन नसक्नुका कारण खोजी गरेका थिए ।

कार्यक्रममा जिज्ञासा राख्ने अधिकांश सहभागीले नगरभित्र भइरहेका विकास निर्माणप्रति राजनीतिक दलका प्रमुख जिम्मेवार हुन नसकेको गुनासो समेत गरेका थिए । उनीहरुले नगरभित्र सञ्चालित योजनाको स्थलगत अवलोकन तथा अनुगमन गरी त्यसको गुणस्तरीयताप्रति जिम्मेवार हुन राजनीतिक दलका प्रमुखलाई सुझावसमेत राखेका थिए ।

कार्यक्रममा फोहरमैला व्यवस्थापन र घर नक्साको राजस्वमा समानता नभएको तथा मूल्य चर्को भएको तथा सिटी सफारीको व्यवस्थापनतर्फ ध्यान दिन पनि नगरपालिकाको ध्यानाकर्षण गराइएको थियो । सार्वजनिक सुनुवाइमा सहभागीबाट आएका प्रश्नको नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले जवाफ दिनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *