दूध बिक्रीबाट दुई करोड पचास लाख आम्दानी

Post Date : September 1, 2016 | 4:24 pm

रामपुर (पाल्पा), १६ भदौ । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मस्यामले आव २०७२/७३ मा दूध बिक्रीबाट रु दुई करोड ५३ लाख आम्दानी गरेको छ ।

यस वर्ष सो सहकारीले ६० लाख ५७ हजार लिटर दूध सङ्कलन गरी बिक्री गरेको थियो । आव २०७१/७२ मा दूध सङ्कलन र बिक्रीबाट रु दुई करोड २५ लाख बराबरको आम्दानी गरेको सो सहकारीका व्यवस्थापक गोपाल जिसीले जानकारी दिनुभयो । सो सहकारीले दैनिक दुई हजार लिटरभन्दा बढी दूध सङ्कलन र बिक्री गर्दै आएको छ ।

सहकारीले मस्याम, मदनपोखरा, तेल्घा, ठिमुरे र रुप्से क्षेत्रबाट दूध सङ्कलन गर्दै आएको छ । यी स्थानमा छवटा दुग्ध सङ्कलन केन्द्र स्थापना गरेर किसानलाई दूध बिक्री वितरणमा सहज सुविधा दिँदै आएको जिसीको भनाइ छ ।

यहाँ सङ्कलित दूध स्थानीय बजारमा दैनिक ३०० लिटर तथा बाँकी दूध सदरमुकाम तानसेन र पोखरामा खपत हुने गरेको छ । सो सहकारीले १५ जनालाई रोजगारी दिएको व्यवस्थापक जिसीले बताउनुभयो । सहकारीले यस क्षेत्रका २५ वटा व्यावसायिक पशु फार्म र ३०० भन्दा बढी किसानबाट दूध खरिद गर्दै आएको छ ।

विसं २०५१ मा स्थापना भएको सो सहकारीमा हाल १३५ जना सेयर सदस्य आबद्ध छन् । दुग्ध सहकारी सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले डेरी पसल सुधार कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान, मिल्क एनालाइजर मेसिनका लागि रु एक लाख ५० हजार, चिलिङ च्याट खरिदका लागि रु एक लाख, तीन वटा डि फ्रिज अनुदानमा उपलब्ध गराएको मदनपोखरा पशुसेवा केन्द्रका प्राविधिक शेरबहादुर रानाले बताउनुभयो ।

सहकारीले किसानलाई सुलभ दरमा ऋण, वर्षको एक पटक जुका, माटेविरुद्धको निःशुल्क औषधि वितरण, कृषकसँग अन्तक्र्रिया, उत्कृष्ट कृषकलाई पुरस्कृत, भ्रमण, तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा दाना उद्योग, घाँस र गाईको स्रोत केन्द्र स्थापना गर्ने सहकारीको लक्ष्य रहेको रानाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *