दूध बेचेर मासिक एक लाख आम्दानी

Post Date : May 10, 2016 | 6:03 pm

रामपुर (पाल्पा), २८ वैशाख । मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक रु एक लाख बढी आम्दानी गरिरहनुभएको छ ।

जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिनुभएका जिसीले सहकारीबाट रु तीन लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गर्नुभएको छ । उहाँले विसं २०६४ मा रु पाँच लाखबाट सुरु गरेको फार्ममा अहिले रु १५ लाख बराबरको लगानी रहेको छ । हाल फार्ममा १८ होलस्टिन र जर्सी जातको माउ गाई रहेका छन् ।

दैनिक १०० देखि १५० लिटरसम्म दूध बिक्री गर्दै आउनुभएका जिसीले दुई जनालाई रोजगारी समेत प्रदान गर्नुभएको छ । उहाँले दूध बिक्री गरेको कमाइले रु २५ लाखमा पक्की घर तथा रु १० लाखमा दुई रोपनी जग्गा जोड्नु भएको छ । विभिन्न सहकारी तथा बैंकमा रु आठ लाख बढी रकम बचत गर्नुभएको छ ।

“कमाउन नसक्दा बाआमाले घरनिकाला गर्नुभयो,” उहाँले भन्नुभयो – “व्यवसाय गर्न धेरैसँग ऋण मागे, कसैले विश्वास गरेनन्, अन्तिममा सहकारीबाट ऋण झिकेर व्यवसाय सुरु गरे ।” आफ्नै मेहनत र जाँगरले उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ ।

जिल्ला पशुसेवा कार्यालयको मदनपोखरास्थित पशु सेवा केन्द्रका प्राविधिक शेरबहादुर रानाले गत वर्ष युवालक्षित कार्यक्रमअन्तर्गत कृषक जिसीलाई रु एक लाख तथा चापकटर मेसिन र घाँसका बीउ उपलब्ध गराएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *