दोलखा जिल्लाको विकट स्थान च्छोरोल्पामा नेपाल टेलिककको जिएसएम सेवा सञ्चालनमा

Post Date : May 19, 2017 | 9:08 am

काठमाडौँ, ५ जेठ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिका अन्तर्गत रहेको छ । यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको छ र यहाँ शेर्पाहरुको बस्ती छ । पर्यटकीय आकर्षणको केन्द्र भएता पनि उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका करिव ८४ घरधुरीका करिब पाँच सय बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । अव यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । बेदिङ्गको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ ।

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने कुरा बताएको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *