धानको उत्पादन वृद्धि हुने

Post Date : August 5, 2016 | 11:46 am

काठमाडौँ, २१ साउन । चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ ।

गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव २०७३/७४ मा ५० लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले अनुमान गरेको छ । अहिले देशभर करिब ५५ लाख मेट्रिक टन धानको माग रहेकाले अझै पाँच लाख मेट्रिक टन धान नपुग हुने देखिन्छ । चालु आवमा करिब रु १० अर्बको चामल आयात गर्ने प्रक्षेपण गरिएको छ ।

गत वर्ष रु २५ अर्बको चामल आयात गरिएकोमा चालु आवमा रु १५ अर्बको आयात प्रतिस्थापन हुने मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भौगोलिक अवस्था अनुसार जहाँ जे उत्पादन हुन्छ, त्यहाँ ती उत्पादनको उपभोग बढाउन सकेमा चामलको आयातमा कमी हुने विचार व्यक्त गर्नुभयो ।

मन्त्रालयका अनुसार यस वर्ष देशका हिमाली, पहाडी र तराई क्षेत्रका अधिकांश भू–भागमा धान खेती राम्रो भएको छ । मकै, गहँु, फापर, कोदोलगायत उत्पादनको खपत तथा उपभोग बढेमा देशभर चामलको मागसमेत घट्न जाने र आयात न्यूनीकरण हुने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *