नगदमा आधारित कारोबारमा जोखिम

Post Date : November 22, 2016 | 4:43 pm

जसै भारतले ५०० र १००० दरका ठूला नोटमा पाबन्दी लगायो, त्यसका असरहरू नेपालमा पनि देखिन सुरु भएका छन् । दुई वर्षअघिसम्म औपचारिकरूपमा नेपालमा ५०० र १००० का भारतीय नोटहरू प्रतिबन्धित थिए, यद्यपि नेपालको भारतसँगको औपचारिक तथा अनौपचारिक कारोबार, नेपाल आउने भारतीय पर्यटक, भारतमा रोजगारीका लागि जाने नेपाली कामदारका समस्यासमेतलाई ध्यानमा दिएर नेपाल राष्ट्र बैंकको अनुरोधमा दुई वर्षअघि यी नोटका कारोबार सीमितरूपमा फुकुवा गरियो । औपचारिकरूपमा एक पटकमा एक व्यक्तिले २५,००० भारुसम्म बोकेर ल्याउन पाइने व्यवस्था गरिएको थियो । यसरी औपचारिकरूपमा नेपालमा ५०० र १००० दरका भारु खुल्ला गरिएको धेरै समय भएको छैन । यस हिसाबले नेपालमा यी ठूला दरका भारु धेरै नहुनु पर्ने हो, तर होइन, जब भारतमा मोदी सरकारले कालाधनविरुद्धको लडाइको अर्को चरणमा पुरयाउने हिसाबले यी ठूला दरका नोटमाथि पाबन्दी लगायो; त्यसपछि सर्वसाधारणदेखि उद्यमी, व्यापारीसमेतले आफूसँग भएका भारु सटही गरिपाउन अनुरोध गर्न थालेका छन् ।

कति छ, नेपालमा भारु?

नेपालमा ठूला दरका भारु यति नै छ भनेर अहिले न नेपाल राष्ट्र बैंकले भन्न सकेको छ, न त उद्यमी–व्यवसायी र यसका कारोबारीहरूले नै । बैंक–वित्तीय संस्था र मनी चेन्जरहरूसँग गरेर करिब ५ करोड भारु जम्मा रहेको नेपाल राष्ट्र बैंकको प्रारम्भीक आँकलन भए पनि उद्यमी–व्यापारी र सर्वसाधारणसँग १० देखि १५ अर्ब रुपैयाँ भारु जम्मा रहेको अनुमान गरिएको छ ।

कसरी जम्मा भयो यत्रो भारु?

यो ठूलो अनुपातको भारु जम्मा हुनुमा निम्न कारकहरू जिम्मेवार छन्ः

१. भारतसँगको अनौपचारिक व्यापारः एक अध्ययअनुसार भारतसँग हुने कुल वैध व्यापारको ४० प्रतिशत हिस्सा अवैध व्यापारले ओगटेको छ । भारतसँग हुने वार्षिक ६ खर्ब रुपैयाँबराबरको वैध व्यापारमा पनि ठूलो कारोबार नगदमा आधारित नै छ । नेपाल आयल निगमले वार्षिक १ खर्ब ३६ अर्ब रुपैयाँबराबरको तेल भारतीय आयल कर्पोरेशन (आईओसी)सँग किन्छ, त्यसको भुक्तानीका लागि पनि भारु चाहिन्छ । त्यसैले हरेक वर्ष नेपाल राष्ट्र बैंकले करिब साढे ३ अर्ब अमेरिकी डलर भारतलाई बिक्री गरेर भारतसँग भारु किन्ने गरेको छ । नेपाल राष्ट्र बैंकले किनेको भारु सटही भइ मुद्रा बजारमा जान्छ । यसरी अहिले नेपालको मौद्रिक प्रणालीमा ४० प्रतिशत मुद्रा भारुले ओगटेको छ ।

२. भारतीय पर्यटकः नेपालमा भारतीय पर्यटक बढी आउनुका कारण यहाँ रितिथिति, संस्कृति मिल्छ, हिन्दी बोलिन्छ वा बुझिन्छ भनेरमात्र होइन; नेपालमा भारु जतासुकै लेनदेन हुन्छ भनेर पनि हो । सरकारले औपचारिकरूपमा २५,०००को सीमा तोके पनि नेपाल आउने भारतीयले त्योभन्दा धेरै ५०० र १००० दरका भारु ल्याएका हुन्छन् । त्यो आफू बसेको होटल, सवारीसाधन, धार्मिक गन्तव्य जहाँ पनि चलाउने गरेका छन् । अझ विगतदेखि नै क्यासिनोमा चलाइएका भारुको अनुपात निकै ठूलो छ ।

३.भारत जाने नेपाली कामदारः पछिल्लो समयमा खाडी मुलुक जान बढी सहज भए पनि मध्य र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूबाट अहिले पनि ठूलो संख्यामा भारत कामका खोजीमा जाने गरेका छन् । अहिले भारतमा रोजगारी गर्ने नेपालीहरूको संख्या ५ लाखजति भएको अनुमान छ र उनीहरूले वार्षिक २५ अर्ब रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्र्याउने गरेका छन् । जुन बढीमात्रामा ५०० र १००० दरका नोट नै हुने गरेको छ ।

४. तिर्थालु/विद्यार्थीः नेपालबाट हरेक वर्ष चार धामका रुपमा भारतका विभिन्न धार्मिक केन्द्रमा जाने नेपालीको संख्या निकै ठूलो छ । यसैगरी करिब २५,००० नेपाली विद्यार्थी भारतका विभिन्न विद्यालय÷कलेजमा अध्ययनरत छन् भनिन्छ । तिनीहरूले भारत जाँदा आउँदा ससानै अनुपातमा भए पनि निकै ठूलो भारु बोक्ने गरेका छन् ।

५. हवाला/हुन्डी कारोबारीः अहिलेको नोटबन्दीबाट सबैभन्दा डुब्ने संकेतमा भने हवाला÷हुन्डीका कारोबारी देखिएका छन् । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार नेपाल भित्रने कुल औपचारिक रेमिट्यान्सको ९ प्रतिशत रकम हुन्डीबाट भित्रने गरेको छ । यद्यपि स्वतन्त्र अर्थशास्त्रीहरूले भने यो अनुपात २५ प्रतिशतको हाराहारीमा भएको आँकलन गरेका छन् । हुन्डीको कारोबार आकारमात्र ६५०० करोडबराबर भएको भारतीय मुद्रा विज्ञहरूले अनुमान गरेका छन् ।

६. माइत–मावलः नेपालका तराई क्षेत्रमा दशकौंदेखि माइत–मावलको सम्बन्ध छ । ती माइत–मावल जानेहरूले पनि क्षिणास्वरुप पाएका पैसा ठूलो अनुपातमा सञ्चित गरेर राखेका छन् ।

७. नेपाल कार्यरत भारतीयहरूः एक अनौपचारिक अनुमानअनुसार नेपालमा करिब ५० लाख भारतीयहरू कार्यरत छन् । तिनले वार्षिक साढे ३ खर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपालबाट लैजाने गरेका छन् । यसो भए पनि आफ्नो घर जाँदा आउँदा काम लाग्छ भनेर तिनीहरूले समेत ठूलो अनुपातमा भारु सञ्चित गरेर राखेका छन् ।

सटहीका पहलः

भारतभित्रै ठूला दरका भारु सटहीमा हंगामा मच्चिएसँगै नेपालमा भएका भारु के गर्ने भन्ने प्रश्न उठेको छ । नेपालमा जतिकै भुटानमा पनि भारु सरोबरी चल्छ । बंगलादेशको एउटा खण्डमा पनि भारु स्वीकारिन्छ । तर, नेपालमा जस्तो त्राहिमाम अन्त मच्चिएको छैन । किनभने भुटान सरकारले चुपचाप भारतसँग आफ्नो देशमा भएका भारुको सटहीको बन्दोबस्त मिलाइसकेको छ ।

भारतीय केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इन्डियाले अहिले साट्दिन भने पनि वैधानिकरूपमा त्यसो भन्न नपाउने पूर्वगभर्नर डा. युवराज खतिवडा बताउँछन्, किनकी आफूले जारी गरेको वैध मुद्रा (लिगल टेन्डर)को दायित्व प्रत्येक जारी गर्ने निकायमा दायित्व हुन्छ ।

नेपालमा पनि नेपाल राष्ट्र बैंकले सटहीको प्रबन्ध गरिरहे पनि त्यसको मोडालिटी कस्तो बनाउने भन्ने अझै स्पष्ट भइसकेको छैन । परिचयपत्रका फोटोकपी राखेर र वैधानिक आधार खोलेर एक पटकलाई २५,००० भारुसम्मको सटही गराउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । यदि यो व्यवस्था लागू भयो भने ठूलो अनुपातमा भारु सञ्चय गरेर राख्नेहरू डुब्ने छन् । व्यावसायीहरूले भने थप रकमसमेत सटही गराउन पहल गरिरहेका छन् ।

भारतीय केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इन्डियाले अहिले साट्दिन भने पनि वैधानिकरूपमा त्यसो भन्न नपाउने पूर्वगभर्नर डा. युवराज खतिवडा बताउँछन्, किनकी आफूले जारी गरेको वैध मुद्रा (लिगल टेन्डर)को दायित्व प्रत्येक जारी गर्ने निकायमा दायित्व हुन्छ ।

नेरुमै पनि जोखिम

भारतले ५०० र १००० दरका ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि अब भारु सञ्चित गरेर राख्नेहरूमात्र होइनन्, नेपालमै पनि ठूलो अनुपातमा नगद सञ्चित गरेर राख्नेहरूले अब दशचोटि सोच्नुपर्ने बेला भएको छ । नगदी नोट भनेको वैधानिक मुद्रामात्र हो, त्यो राज्यले चाहेको बेला कुनै पनि दर, आकारप्रकार वा सिरिजमा रोक लगाउन वा फिर्ता लिन सक्छ ।

नेपालमै पनि ठूलो अनुपातमा नगद सञ्चित गरेर राख्नेहरूले अब दशचोटि सोच्नुपर्ने बेला भएको छ । नगदी नोट भनेको वैधानिक मुद्रामात्र हो, त्यो राज्यले चाहेको बेला कुनै पनि दर, आकारप्रकार वा सिरिजमा रोक लगाउन वा फिर्ता लिन सक्छ ।

२०६८ सालमा नेपालमा पनि राजाका तस्बीर अंकित नोटहरू मौद्रिक प्रणालीबाट खिच्ने निर्णय भएको थियो । २०६८ चैत १ गतेबाट त्यस्ता नोट चल्दै नचल्ने भनिएपछि सर्वसाधारणहरू लामो लाइन लागेर नोट सटही गरिरहेका देखिन्थे । तर, सर्वसाधारणको समस्यालाई बुझेर नेपाल राष्ट्र बैंकले एकै पटक नभइ क्रमिकरूपमा फिर्ता लिने व्यवस्था गरयो ।

नेपालमा अहिले बैंकिङ प्रणालीमा पुग–नपुग ४० प्रतिशत नागरिकमात्र आएका छन् । ती ४० प्रतिशतमध्ये पनि ठूलो अनुपातले अझैसम्म नगद पोको पारेर राख्ने चलन छ । मानिलिनुस्, सरकारले नेपालमा पनि ५०० र १००० दरका नोट नचल्ने व्यवस्था ग¥यो भने तपाईं के गर्नुहुन्छ? रातरातभर लाइन लागेर नोट साट्नु हुन्छ कि त्यसका बैकल्पिक व्यवस्था भन्दै भारतका ग्रामीण क्षेत्रमा जस्तै वस्तु विनिमय प्रथातिर फर्कनु हुन्छ? बैंकिङ प्रणालीको विश्वास गर्नुतिर लाग्नु नै उपयुक्त विधि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *