नगरपालिकाको लगानीमा यातायात कम्पनी

Post Date : February 9, 2017 | 6:48 pm

काठमाडौँ, २७ माघ । काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम् काठमाडौँ महानगरपालिकाको नेतृत्वमा उपत्यकाका २२ नगरपालिकाले सेयर राखी कम्पनी स्थापना गर्न लागेका हुन् । रु १० करोड सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कम्पनीका लागि कामपाले रु दुई करोड, ललितपुर उपमहानगरपालिकाले रु एक करोड, भक्तपुर नगरपालिकाले रु ६० लाख तथा कीर्तिपुर– गोकर्णेश्वर– बूढानीलकण्ठ– टोखा– नागार्जुन र मध्यपुरथिमी नगरपालिकाले रु ३५/३५ लाख सेयर लगानी गर्नेछन् । शङ्खरापुर, कागेश्वरी मनोहरा, तारकेश्वर, चन्द्रागिरि, दक्षिणकाली, कार्यविनायक, गोदावरी, महालक्ष्मी, वज्रबाराही, अनन्तलिङ्गेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिकाले रु १०÷१० लाख चालु बजेटबाट कम्पनीका लागि छुट्याएका छन् । सरकारले चालु आवमै कम्पनीका लागि रु तीन करोड अनुदान दिएको छ ।

“कम्पनीको प्रबन्धपत्र र नियमावली तयार पारी नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृतलाई हस्ताक्षर गराइएको छ, कम्पनी दर्ता गरी तीन महिनाभित्र यातायात सञ्चालन गर्ने गरी काम अघि बढेको छ”, उहाँले भन्नुभयो । राजधानीमै यात्रुले सकसपूर्ण रुपमा यातायातमा यात्रा गर्न बाध्य भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत साउनको निर्देशनबमोजिम मन्त्रालयले स्थानीय निकायलाई परिचालन गरी कम्पनी स्थापना गर्न लागेको हो ।

कम्पनी स्थापनापछि राति काम गर्ने यात्रुले ढुक्क भएर काम गर्न सक्नेछन् । हाल निजी क्षेत्रले सञ्चालन गरिरहेको यातायातले बेलुकी ६ बजेपछि यातायात नचलाउँदा यात्रु मर्कामा पर्ने गरेका छन् । अपाङ्गमैत्री र वातानुकूलितयुक्त सवारी पनि सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

कम्पनीका यातायात सुरु भएपछि अन्तर्राष्ट्रिय विमानस्थलबाट राति बाहिर जाने र आउने यात्रुलाई पनि सुविधा हुनेछ । सवारीमा सामान राख्ने स्थानसमेत हुनेछ । यसअघि सरकारी निकायकै बढी लगानीमा साझा यातायात काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि सञ्चालनमा छ । सरकारी निकायले नाफा नकमाई नाफा यातायात क्षेत्रमै लगानी गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा व्यवस्था गरिएको छ । कम्पनीका सवारी सञ्चालनमा आएपछि उपत्यकामै रहेको यातायात एकाधिकार तोडिने र यात्रुले सहज रुपमा सेवा पाउने विश्वास गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *