नगरमा प्रदूषण बढेपछि च्याउ किसान ग्रामीण क्षेत्रमा

Post Date : December 6, 2016 | 4:32 pm

ललितपुर, २१ मङ्सिर । नगर क्षेत्रमा प्रदूषणका कारण च्याउखेती फस्टाउन नसकेपछि जिल्लाका च्याउ किसान ग्रामीण क्षेत्रमा स्थानान्तरण भइरहेका छन् ।

जिल्लाका चन्दनपुर, कतवान, भारदेउलगायत दक्षिणी भेगका गाविसमा किसान च्याउखेतीतर्फ आकर्षित भइरहेका छन् । व्यावसायिक खेती गर्ने किसान दक्षिणी भेगमा स्थानान्तरण भइरहेका जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नरेश घिमिरेले बताउनुभयो ।

“यातायातको सुविधा भएका ग्रामीण क्षेत्रमा किसान च्याउखेती गर्न थालेका छन्,” उहाँले भन्नुभयो । गिम्दी, माल्टा, आश्राङलगायतका स्थानमा च्याउखेतीको सम्भावना भए पनि यातायातको असुविधा छ । च्याउका लागि औसत २५ डिग्री तापक्रम चाहिने घिमिरे बताउनुहुन्छ ।

जिल्लामा च्याउखेतीमा संलग्न किसानको सङ्ख्या बर्सेनि बढिरहेको छ । जिल्लामा ठूलो र सानो परिमाणमा करिब ६०० किसान च्याउखेती गरिरहेका छन् । किसानले रु ६० हजारदेखि रु ७० हजार लगानी गरेर च्याउखेती गर्न सक्छन् भने यसबाट वार्षिक रु एक लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न सक्छन् ।

जिल्लामा कन्ये, गोब्रे र काठमा बनाउने च्याउ किसानले उत्पादन गरिरहेका छन् । कन्ये च्याउ प्रतिकिलो रु ८० देखि रु २००, गोब्रे रु ४०० देखि रु ५०० तथा काठमा बनाइने च्याउ रु ६०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ । व्यावसायिक किट विकास निर्देशनालयले च्याउखेतीमा किसानलाई रु ४० हजारसम्म अनुदान दिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *