नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

Post Date : May 3, 2018 | 4:01 pm

मेलम्ची, २० वैशाख । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ ।

जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् ।

मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्ड बनाएको भएपनि मापदण्ड विपरीत उत्खनन् गरिरहँदा नगरपालिकाले चासो दिएको छैन ।

नेपाल सरकारले क्रसर सञ्चालनका लागि राजमार्गबाट ५०० मिटर टाढा, खोलाकिनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापदण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापदण्ड विपरीत निर्वाधरुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन् ।

नाम नबताउने शर्तमा एक स्थानीय भन्नुहुन्छ, “जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट मनोमानी तरिकाले गिट्टी बालुवा उत्खनन गरिरहेको भए पनि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र सम्बन्धित निकायले भने कुनै कारबाहीको दायरामा ल्याउने गरेका छैनन् ।”

नदीको धार नै परिवर्तन गरेर अवैध उत्खनन गर्दा र अनाधिकृतरुपमा नदीभित्र स्काभेटर प्रयोग गरेको सूचना दिँदासमेत स्थानीय प्रशासन र नगरपालिकाले कुनै प्रतिक्रिया नदिने स्थानीय बताउँछन् ।

पाल्चोकी क्रसरदेखि लामा क्रसरसम्मले नदीको धारनै परिर्वतन गरी उत्खनन गर्ने गरेका छन् । स्वतन्त्ररुपमा बगेको नदीको धार परिर्वतन गरी नदीजन्य पदार्थ झिक्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेकाले रकमको चलखेल भएको स्थानीयले आरोप लगाएका छन् ।

स्काभेटरले खन्दा इन्द्रावती नदी किनारभरि ट्र्याक्टर नै पुरिने खाल्डा बनेका छन् । बाहुनीपाटीका एक स्थानीयवासीका अनुसार रातदिन नदीमा स्काभेटर प्रयोग गर्छन् । रातमा स्काभेटर चलेर निन्द्रासमेत लाग्दैन तर स्थानीय प्रशासन मौन बस्छन्, रोक्नका लागि कुरा गर्दासमेत वास्ता गर्दैनन् ।

स्थानीय सञ्चारकर्मीले स्काभेटरले खोलाभित्रबाट धारै परिर्वतन गरी नदीजन्य पदार्थ निकालेकोे इप्रका मेलम्चीलाई पटकपटक जानकारी गराउँदा प्रहरी निरीक्षक पर्शुराम मल्लले नगरपालिकाबाट कारबाहीको लागि कुनै आधिकारिक पत्र नआएको बताउनुभयो ।

“नदी किनारबाट क्रसर हुँदै हिँड्ने नगरपालिकाका प्रमुखले धार परिवर्तन गरेको देख्दादेख्दै त कुनै चासो दिँदैनन् भने हामीले कराएर केही लाग्दैन । नदीको बहावलाई रोकेर नदीको बाटो नै परिवर्तन गरी क्रसर व्यवसायीले मोटो रकम बुझाएका कारणनै यसको रोकथाम नभएको हो,” स्थानीय करुणासागर सिग्देल बताउनुहुन्छ ।

नियमविपरीत नदीमा सिधै स्काभेटर प्रयोग गरी क्रसरले असंख्य खाल्डो बनाएको छ । सोही खाल्डोमा परी मेलम्चीको गिरानचौर मामाघर आएका भोजपुरका ११ वर्षीय कर्साङ तामाङको वैशाख ६ गते डुबेर मृत्युभएको थियो ।

नगरपालिका र जिल्ला समन्वय समितिले तोकेको नियमअनुसार पुलको ५०० मिटर वरपरबाट गिट्टी, बालुवा निकाल्न पाइँदैन । तर, पनि उत्खनन् भइरहेको छ । पुलको १०० मिटरभन्दा नजिकैबाट दिनहुँ ट्र्याक्टर स्काभेटरले गिट्टी, बालुवा र ढुंगा लैजाने गरेको स्थानीय दीपेश खनालले बताउनुभयो ।

पुल नजिकैबाट गिट्टी, बालुवा र ढुंगा हुँदा पुलनै जोखिममा परेको खनाल बताउनुहुन्छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय नगरपालिकाले अनुगमन गरेको र मापदण्डभित्र नरहेको पाउँदासमेत कारबाहीको दायरामा ल्याउन सकेको छैन । कारबाही गर्छौं भन्दै देखावटी अनुगमन गर्ने र पछि रकमको चलखेलमा चुप बस्ने गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

अवैधरुपमा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको जानकारी आफूले पाएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी पाउनासाथ आफूले कारबाहीका लागि स्थानीय नगरपालिका र प्रशासनलाई पत्राचार गरेको जानकारी दिनुभयो ।

नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ भने खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

नगरपालिका र प्रहरी प्रशासनले मापदण्डविपरीत क्रसर सञ्चालन गरेको पाएमा कारबाही गर्न समिति गठन गरेको भए पनि अहिलेसम्म अनुगमन गरेको छैन । अवैध उत्खनन भएको पटकपटक नगरपालिकालाई जानकारी गराउँदा पनि अनुगमन गर्ने भन्दै टार्ने गरेका छन् ।

नदी गहिरिएर सिँचाइका लागि बनाएको कुलोमा समेत पानी नचढ्ने भएको कृषक भीम माझीले गुनासो गर्नुभएको छ । क्रसरले नदीमा बनाएको खाल्डोले नदी गहिरिएर पानी नचढेपछि धान रोपाइँ गर्न समस्या भएको माझीले बताउनुभयो ।

जिसस प्रमुख तामाङले नियमविपरीत क्रसर सञ्चालन गरेमा तथा नदीजन्य पदार्थ उत्खनन् गरी वातावरणमा प्रदूषण बढाउने कार्य गरेमा तुरुन्तै कानूनी दायरामा ल्याएर कारबाही गर्ने भन्दै टार्ने गर्नुभएको छ । (आदित्य दाहाल-रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *