नमुना बस्ती बन्दै द्रब्य शाहको पुरानो गाउँ

Post Date : September 7, 2016 | 3:11 pm

रागिनासकोट, (लमजुङ) २२ भदौ । एतिहासिक एवम् पर्यटकीय गाउँका रुपमा चिनिएका पूर्वी लमजुङका रागिनासकोटमा अहिले स्थानीयले पुनःनिर्माण र होम स्टे सञ्चालनको तयारीमा जुटेको छ ।

भूकम्प गएको झन्डै १६ महिना भइसक्दा पनि सरकारले पुनःनिर्माण अभियानलाई सुस्त बनाइरहँदा रागिनासकोटका स्थानीयले गाउँमै सहयोग भित्र्याएर पुनःनिर्माणमा जुटेका हुन् । अमेरिकी नागरिक नातासाको नेतृत्वमा गाउँ पुनःनिर्माणको काम सुरु भएको हो ।

भूकम्पले भत्काएका आफ्ना घर पुनःनिर्माण हुने भएपछि स्थानीय निकै खुसी देखिएका छन् । ६५ वर्षीया विकी गुरुङले पक्की घरमा बस्न पाउँदा निकै खुसी भएको अनुभव गरेकी छिन् । उनी भन्छिन् “भूइँचालोले घर लग्यो त्यसपछि त्रिपालमुनी बस्दै आएँ धन्न मेरोे भाग्य अमेरिकाबाट मेरै छोरीजस्ती मान्छे आइन् र मेरो घर बनाइदिइन् । मेरो मात्रै होइन, गाउँका सबै घर बनाउँदै छे । सबै घर एउटै देखिने गरी बनाउने अरे । हाम्रो आमा समूहको घर पनि बनाइदिने भनेकी छे” विकी भन्छिन ।

उनी मात्र होइन रागिनासकोटका खड्गबहादुर गुरुङ पनि अमेरिकी नागरिक नातासाप्रति निकै सम्मान प्रकट गर्छन् । उनी भन्छन् “हाम्रा नेता जनतालाई दुई लाख दिने विषयमा समेत जुँगाको लडाइँ गर्छन् । सरकारको भर परेको भए त हाम्रो अझै १० वर्ष घर बन्ने थिएन । एउटा सामान्य घर बनाउन झन्डै १५ लाख लाग्दो रहेछ, सरकारले दुई लाखमा घर बनाउ भनेको छ, त्यो पनि दुई वर्ष हुन लागिसक्यो गुरुङ भन्छन् — सरकारले उपलब्ध गराएको रकममध्ये रु १५ हजार भन्दा बढी आएकै छैन । धन्न नातासा नानी आइछन् र हाम्रो भाग्य खुल्यो । ”

उनका अनुसार गाउँका अधिकांश व्यक्ति गाउँ नै छाडेर बसाइँ जाने तयारीमा थिए । रु १० लाखदेखि रु १५ लाखसम्म खर्च गरेर घर बनाउनुभन्दा अन्यत्र गएर टिनको छाप्रो हालेर बस्ने योजनामा गाउँले थिए । तर नातासाले सहयोग गरेपछि सबै गाउँले गाउँमै रोकिएका छन् । कुल पाँचकोठामध्ये हरेक घरमा एक कोठा अनिवार्य रुपमा घरवास कार्यक्रमका लागि राख्नुपर्नेछ । एक किचन, एक घरवास कार्यक्रमका लागि पाहुना कोठा, तीन कोठा घरयासी प्रयोजनमा प्रयोग गर्न पाइने छ । प्रत्येक घरमा आधुनिक शौचालय निर्माण हुनेछ । प्रत्येक शौचालयमा दुई किसिमका प्यान राख्नुपर्नेछ । अनि शौचालय र स्नान कोठा बेग्लै हुनेछन् ।

शौचालय र स्नान कक्षमा अनिवार्य रुपमा टायल टाँसेको र सावर हुनुपर्ने सर्त राखिएको छ । घरवास कार्यक्रमका लागि राखिएका कोठाबाट विभिन्न १९ वटा हिमशृृङ्खला देख्न पाइने छ । भूकम्पले भत्काएका रागिनासकोटका घरमध्ये होम स्टे सञ्चालनका लागि १४ घर आधुनिक तवरबाट पुनःनिर्माण भइरहेको छ ।

स्थानीय महत्व झल्कने गरी बनाइएको आधुनिक घरमा स्थानीय र अमेरीकी नागरिक नातासा वाजनियाकको लगानी छ । रागिनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माणका लागि करिब रु एक करोड ५० लाख रकम उनले स्थानीयलाई सहयोग गरेकी छन् ।

रागिनासकोटका १४ घरमध्ये हालसम्म पाँच घर निर्माण भइसकेका छन् । बाँकी घर निर्माणको चरणमा छन् । वातवरणमैत्री अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलो, फोहोरमैला र पानी व्यवस्थापनका लागि कार्य भइरहेको छ । रागिनासकोटमा निर्माण हुन लागेका प्रत्येक घरमा सोलार प्यानल जडान गरिनेछन् ।

पाँचवटा कोठा रहने भूकम्प प्रतिरोधी घरमा गाउँले तवरबाट पिंढी, फलैँंचा, आकासे पानीको व्यवस्थापनका लागि ट्याङक जडान गरिने र सडक बत्ती जडान हुनेछ ।

रागिनासकोटमा रहेका केही पुराना घुमाउने घरलाई भने पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिन्छ । गुरुङ जातीको बस्ती रहेको रागिनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन सङ्ग्राहलय समेत स्थापना गरिनेछ । त्यस्तै रागिनासकोटको पुनःनिर्माणसँगै कृषि पर्यटनको अवधारणा पनि सँगसँगै बढ्ने भएको छ । ‘कृषि पर्यटनको अवधारणा अनुसार प्रत्येक घरमा ग्रीन हाउस, कृषि र पशुपालनको पनि सुरुवात हुदैछ ।

बाइसे चौबिसे राज्य शासनमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको रागिनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घन्टाको पैदल यात्रा वा दुई घन्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङलगायत गरी १८ वटा हिमशृङखला सहजै देख्न सकिन्छ ।

शाहवंशीय राजा यशोबह्म शाहका कान्छा छोरा द्रब्य शाहले सुरक्षाको जिम्मा लिई बसेको रागिनासकोट गाउँको पुनःनिर्माणसंगै यहाँ पर्यटक आउनेहरुको संख्यामा उल्लेखनीय बृद्धि हुने विश्वास स्थानीयको छ । (ऋषिराम अधिकारी) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *